विराटनगर । प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको आर्थिक ममिला तथा योजना मन्त्रालयको वेथितिलाई निर्मुल पार्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । आर्थिक ममिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोलाई बर्खास्त गरेर आफैले मन्त्रालयको जिम्मेवारी सम्हालेका राईले बिहिबार मन्त्रालयमा पुगेर कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन् ।
नेकपाभित्रको आन्तरिक विवाद चर्किरहेका बेला आफुविरुद्ध अविश्वास प्रस्ताव ल्याउँने तयारी गरेको भन्दै मुख्यमन्त्री राईले मन्त्री आङ्वोलाई बर्खास्त गरेका हुन् । मुख्यमन्त्री राई ओली निकट हुन् भने आङ्वो प्रचण्ड–नेपाल पक्षका हुन् । मन्त्री आङ्वोलाई बर्खास्त गरेपछि आर्थिक ममिला तथा योजना मन्त्रीको जिम्मेवारी पनि मुख्यमन्त्री राईले नै सम्हालेका छन् ।
जिम्मेवारी सम्हालेपछि मन्त्रालय पुगेका राईले मन्त्रालयमा वित्तिय अनुशासन कायम नभएको संकेत गर्दै वित्तिय अनुशासन कायम राखेर वेथितिलाई पूर्णरुपमा निर्मुल गर्न निर्देशन दिएका हुन् । कर्मचारीहरुलाई निर्देशन दिदै मुख्यमन्त्री राईले भने,‘गल्ती कमजोरी कहिँ कतैबाट हुन दिनुभएन ।’
उनले प्रदेश सरकारले सही र यथार्र्थपरक बजेट बनाउन नसकेको र वित्तिय अनुशासन कायम नभएकोबारे विभागिय मन्त्रीलाई पटक–पटक सचेत गराएको जानकारी पनि दिए । पछिल्लो राजनीतिक घटनाक्रमले केही अन्यौलता देखिएपनि अन्यौलतामा नपरी काम गर्न मुख्यमन्त्री राईले कर्मचारीहरुलाई आग्रह गरे । माघ ७ गतेको प्रदेशसभापछि अन्यौलता हट्ने उनले बताए ।
सरकार परिवर्तन हुने हल्लाको पछि नलाग्न कर्मचारीहरुलाई सचेत गराए । आफु नेतृत्वको सरकार नै अघि बढ्ने दावी गर्दै उनले भने, ‘कोही, कतै र कसैबाट पनि प्रभावित नहुनुहोला । उच्च मनोवलका साथ काम गर्नुहोस् ।’