तेह्रथुम । नेपाली कांग्रेसले तेह्रथुममा एउटा मात्रै स्थानीय तह जितेको छ । जिल्लामा कांग्रेसलाई ‘क्लिन स्वीप’ गर्न नदिने यी व्यक्ति हुन्– लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबुहाङ ।

Advertisement

अर्जुनबाबुलाई जिल्लामा धेरै मानिसले राजनीतिज्ञ भन्दा पनि लेखकका रुपमा चिन्छन् । कलेज पढ्न तेह्रथुमबाट धरान झरेका अर्जुनले एक दशकभन्दा बढी समय धरानमै बिताए ।

उनले महेन्द्र बहुमुखी क्याम्पसको कर्मचारी समेत भएर काम गरे । धरानबाटै आफूलाई विभिन्न पुस्तकका लेखकका रुपमा स्थापित गराए ।

कान्तिपुर लगायत विभिन्न पत्रपत्रिकामा लेखहरु लेख्ने गरेका माबुहाङले मुन्धुम सम्बन्धी पुस्तक लेखेका छन् । उनले लिम्बू गीतको एल्बम समेत निकालेका छन् । इतिहासको अध्ययनमा विशेष रुचि भएका उनमा नेताको भन्दा बढी विचारक र विश्लेषकको छनक देखिन्छ ।

उनी लिम्बू भाषा र संस्कृतिका ज्ञाता मानिन्छन् । तर, परिवेशले अर्जुनलाई फेरि धरानबाट वसन्तपुरको गुराँसे लेकमा चढाएको छ, एउटा राजनीतिज्ञका रुपमा ।

नयाँ संविधानले स्थानीय तहलाई शक्तिसम्पन्न भएपछि शहर पसेका युवाहरु कसरी गाउँ फर्कने क्रम बढेको छ भन्ने एउटा ज्वलन्त उदाहरण बनेका छन् अर्जुनबाबु ।

बाबुको बिँडो !

अर्जुनबाबु माबुहाङको परिवारलाई तेह्रथुममा राजनीतिक परिवारका रुपमा लिने गरिन्छ । भलै उनका एकजना काका बालकृष्ण माबुहाङ भने आदिवासी जनजाति आन्दोलनका अगुवा एवं समाजशास्त्रीका रुपमा चिनिन्छिन् ।

अर्जुनका पिता स्व. डम्बर माबुहाङ पञ्चायतकालमा वसन्तपुरका प्रधानपञ्च थिए । बहुदल आएपछि उनी गाविस अध्यक्ष भए ।

कांग्रेसका तेह्रथुम उपसभापति भइसकेका डम्बरको गतसाल निधन भयो । कांग्रेस विभाजन हुँदा डम्बर देउवा समूहमा थिए ।

यतिबेला पूर्वप्रधानपञ्च एवं पूर्वगाविस अध्यक्षको ठाउँमा उनकै छोरा अर्जुनले ‘कम्ब्याक’ गरेका छन् । फरक यति छ, उनका पिता प्रधानपञ्च र अध्यक्ष थिए, छोरा मेयर बनेका छन् । र, हिजोको वसन्तपुर गाविस अहिले अन्य गाविस समेत मिलेर लालीगुराँस नगरपालिकामा परिणत भएको छ ।

तेह्रथुममा म्याङलुङपछिको अर्को नगरपालिका यही मात्र हो । ७ स्थानीय तह रहेको तेह्रथुममा २ नगरपालिका र ५ वटा गाउँपालिका छन् ।
यसो भन्न सकिन्छ, अर्जुनबाबु माबुहाङ आफ्नो पिताले जनिप्रतिनिधि बनेकै जगमा बाबुको ‘बिँडो’ थाम्न पुगेका छन् ।

माओवादी छाडेर कांग्रेसमा ‘कमब्याक’

‘एकेडेमिक’ व्यक्तित्व बनाइरहेका बेला राजनीतिमा जान रुचि गरेका अर्जुनका लागि ०७० साल यताको समय निकै उतारचढावपूर्ण रह्यो । दोस्रो संविधानसभाको चुनावअघि तेह्रथुमको जिरीखिम्तीमा आयोजित एक कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले अर्जुनलाई माला लगाएर माओवादीमा प्रवेश गराए ।

आदिवासी जनजातिको पहिचानको मुद्दालाई माओवादीले नै बोकेको हुनाले आफूले माओवादीलाई रोजेको उनको तर्क थियो ।

माओवादीमा प्रवेश गर्नुपूर्व अर्जुन भर्खरैमात्र नेपाली कांग्रेसको लिम्बु संघको केन्द्रीय अध्यक्ष बनेका थिए । तत्कालीन पार्टी सभापति सुशील कोइरालले अर्जुनलाई लिम्बु संघको अध्यक्षमा मनोनित गरेका थिए । तर, उनी त्यो पद छाडेर माओवादीमा प्रवेश गरे ।

संविधानसभाको चुनावपछि अर्जुन आफ्ना बिरामी पिताको उपचारमा लागे । तर, केही लागेन । अन्ततः पिताको अन्त्येष्टिमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासम्मको उपस्थिति देखिपछि उनको मन पग्लियो । अर्जुनले भावनात्मक रुपमा नेपाली कांग्रेसलाई नै आफ्नो पुख्र्यौली घर सम्झिए र, चुनावका बेला गरेको ‘गल्ती’ सच्याउँदै माओवादी छाडेर आफ्नै बुबाको पार्टीमा फर्किए ।

यसक्रममा अर्जुनलाई ‘अस्थिर’ व्यक्तिको आरोप समेत लाग्यो । धरानमा हुँदा उनी एमाले नजिक थिए, पछि कांग्रेसमा लागे । त्यसपछि माओवादी तेस्रो शक्तिमा खुम्चिएको देखेपछि उनी फेरि कांग्रेसमा फर्किए भनेर धेरैले उनको आलोचना गरे ।

यसैबीच उनी सरकारमा कांग्रेसका नेताहरु रहनुको फाइदा उठाउँदै वसन्तपुरको नगरविकास अध्यक्ष बने । यसक्रममा उनले स्थानीय तहलाई बुझ्ने मौका पाए ।

अन्ततः अहिले उनी नगरविकासको अध्यक्षबाट नगरपालिकाको मेयर बन्न पुगेको छन् । र, ०७० साल यता अस्थिर देखिएको उनको राजनीतिक यात्राले अब कम्तिमा ५ वर्ष स्थायित्व लिने अनुमान गर्न सकिन्छ ।

यी अध्ययनशील मेयरले अब राम्रो काम गरे भने तेह्रथुमको राजनीतिमा तुलसी सुब्बा वा पर्शुराम खापुङहरुलाई ‘रिप्लेस’ नगर्लान् भन्न सकिँदैन । आखिर जिल्लामा कांग्रेसको छवि जोगाइदिने उनी एक्ला बृहस्पति बनेका छन् ।-अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!