भद्रपुर, १५ माघ ।  झापाको दक्षिणी क्षेत्रमा लगाइएको निजी वन हेर्न यतिबेला विभिन्न स्थानबाट किसान आउने गरेका छन् । यहाँ ३० बिघा जग्गामा भेषराज लोहनीको परिवारले कम्पनी नै दर्ता गरेर वन क्षेत्रको विस्तार गर्दै आएको छ ।

Advertisement

गौरीगञ्ज नगरपालिका–५ स्थित खजुरगाछी बजारदेखि करीब तीन किलोमिटरको दूरीमा लोहनी परिवारले टिक, पाउलोनिया, मलेशियन साल, विजयसाल, क्रस महग्नीलगायत दर्जन बढी जातका बिरुवा हुर्काइरहेको छ ।

चार वर्षअघि स्थानीयवासीको १०० बिघा जग्गा खरीद गर्नुभएका लोहनीले ग्रीन फरेस्ट खजुरगाछी प्रालि नै दर्ता गरेर वन लगाउन शुरु गर्नुभएको हो । उहाँलाई यतिबेला सरोज लोहनीलगायत परिवारका सदस्यले साथ दिँदै आउनुभएको छ ।

सय बिघा जग्गा खरीद गरेर ३० बिघामा निजी वन लगाएको प्रालिले बाँकी ७० बिघा जमीनमा कृषि परियोजना सञ्चालन गर्ने तयारी गरिरहेको छ । वनमा यतिबेला २२ हजार बिरुवा हुर्काइरहेको प्रालिका प्रबन्धक सञ्जय लोहनीले बताउनुभयो । रु एक करोड बढीको लगानीमा शुरु गरेको वनमा शुरुका दिनमा प्राविधिक ज्ञान नहुँदा निक्कै सकस व्यहोर्नुपरेको उहाँको अनुभव छ ।

“स्थानीयलाई स्वरोजगार बनाउने र वातावरण स्वच्छ बनाउनुका साथै आम्दानीको सजिलो र भरपर्दो स्रोत भएकाले निजी वन शुरु गरेका हौँ”, कम्पनीका अध्यक्षसमेत रहनुभएका भेषराज लोहनीले भन्नुभयो ।

झापाको अर्जुनधारा, शिवसताक्षी, दमक, मेचीनगर, विर्तामोड र भद्रपुर नगरपालिकाभित्रका अधिकांश किसानले निजी वन लगाउन सुरु गरेको जिल्ला वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताउनुभयो ।

झापामा हाल ५९ सामुदायिक वन, तीन कबुलियत वन र ४१८ निजी वन रहेको डिभिजन वन कार्यालय झापाको तथ्याङ्कले देखाउँछ । प्रमुख घिमिरेका अनुसार झापामा १८ हजार ६५ हेक्टर क्षेत्रमा ५८ सामुदायिक वन, तीन कबुलियत र दुई वैज्ञानिक वन रहेका छन् भने ४२८ दशमलव ३४ हेक्टर जमीनमा निजी वन रहेको छ ।

घिमिरेले निजी वन लगाउने किसानलाई सरकारले निःशुल्क प्राविधिक सहयोग प्रदान गर्दै आउनुका साथै उनीहरूलाई प्रोत्साहन गर्नका लागि नर्सरी उत्पादनमा अनुदानसमेत दिँदै आएको बताउनुभयो ।

युवा दिनानुदिन विदेशिने र भएका जग्गा श्रमिकको अभावमा बाँझो हुँदै गएको बेला सरकारले निजी वनलाई प्रोत्साहन दिने उद्देश्यले किसानले उत्पादनका गरेका बिरुवाका नर्सरीसमेत डिभिजन वन कार्यालयले नै किन्दै आएको घिमिरेले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!