
धनकुटा, ३० भदौ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकार सञ्चालन गर्नु नयाँ अभ्यास भएकाले यसको ब्यवस्थापन लगायत बिषयमा धेरै जटिलता देखिएको बताएका छन् ।
धनकुटामा शनिवार गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयको सातौं वार्षिक साधारणसभा, श्रष्टा सम्मान, स्मारिका विमोचन एवं काव्य गोष्ठी उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै मन्त्री घिमिरेले यस्तो बताएका हुन् ।
तीन तहको सरकारको अभ्यास गरिरहेका बेला प्रदेश सरकार विलकुल नयाँ अभ्यास भएकाले यसको व्यवस्थापन देखि धेरै कुरामा जटिलता आएको उनको भनाइ छ । काम गर्नका लागि आवश्यक ऐन, कानुन, नियम निर्देशिका र त्यसकालागि चाहिने प्रशासनिक संयन्त्र तयार भइनसकेकाले प्रदेश सरकारले गर्ने भनिएका कामहरु गर्न केहि असजिलो भएको उनले बताए ।
राजनीतिक रुपमा देशमा परिवर्तन भएर संघियता आएपनि मानसिक रुपमा संघीयता आत्मासात नगर्दा समस्या भएको उनको ठम्याई छ । कुरो बुझेर पनि बुझ पचाउने संक्रमण भित्र देश रुमलिदा थप समस्या सृजना भएको उनले बताए ।
फरक प्रसंगमा मन्त्री घिमिरले पुस्तकालयको स्तरोन्नति गरेर सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । सबैको पहिलो रोजाइको सामुदायिक पुस्तकालय बनाउन प्रदेश सरकारले सहयोग गर्ने उनले आश्वासन पनि दिए ।
राज्य पुर्नसंरचनाका कारण धनकुटालाई केहि असर परेको भएपनि बिस्तारै सवै समस्याको समाधान हुँदै जाने उल्लेख गरे । कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान पनि गरिएको थियो ।
यसअघि त्रिवेणी कृषि उपभोक्ता सहकारीको दशौं साधारणसभा उद्घाटन गर्दै मन्त्री घिमिरेले प्रदेश सरकारले सहकारीलाई उच्च प्राथमिकतामा राखेको बताएका थिए ।















