विराटनगर, २७ भदौ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज बुधबार मोरङमा पनि धुमधामका साथ मनाईएको छ । ठाउँ–ठाउँमा तीज बिशेष कार्यक्रम गरेर हर्सोल्लासपूर्वक तीज पर्व मनाईएको हो ।
यसैवीच तीजको अवसर पारेर मोरङको वेलवारी–३ सहकारी टोलमा कल्पेश्वर शिव मन्दिर ब्यवस्थापन समितिले तीज बिशेष धार्मिक साँस्कृतिक कार्यक्रम गरेको छ ।
कार्यक्रमलाई संबोधन गर्दै नोबेल अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्माले ब्रत बस्दा आफ्नो स्वास्थ्यको बिशेष ख्याल गर्न ब्रतालुहरुलाई आग्रह गरेकी छन् । आफु स्वस्थ रहेमा मात्र सवै कुरा गर्न सकिने भन्दै शर्माले स्वास्थ्यलाईनै असर पार्ने गरी निरहार ब्रत नबस्न ब्रतालुहरुलाई आग्रह गरिन् ।
पानीसमेत नखाई ब्रत बस्दा धेरै ब्रतालुहरु बेहोस भएर अस्पताल भर्ना भएको उदाहरण दिदै उनले चिताएको कुरा पाउँन खाली पेट भन्दा पनि स्वच्छ मनको खाचो औल्याईन् ।
कार्यक्रमको प्रमुख अतिथिसमेत रहेकी शर्माले ब्रत बसेको समयमा स्टेजमै पानी खाएर अरु ब्रतालुहरुलाई पनि पानी खान आग्रह गरेकी थिईन् । तीज पर्व भड्किलो बन्दै गएको प्रति चिन्ता ब्यक्त गर्दै उनले यसलाई बिकृतिको रुपमा नभई सस्कृतिको संरक्षण गर्ने गरी मनाउँनुपर्नेमा जोड दिईन् ।
कार्यक्रममा मन्दिर ब्यवस्थापन समिति अध्यक्ष सिता सुवेदी, उपाध्यक्ष हर्कराज राई, नेपाल महिला संघकी केन्द्रिय सदस्य भगवती पौडेल, स्थानीय समाजसेवी प्रतापकुमार थापा लगायतले पनि तीजको शुभकामना ब्यक्त गरे । कार्यक्रममा दुई ब्यक्तिलाई सम्मान पनि गरिएको छ ।
अपांगता भएर पनि ज्याला मजदुरी गर्दै आएका स्थानीय कुमार श्रेष्ठ र जेष्ठ नागरिक मनही धिमाललाई शर्माले दोसल्ला ओढाएर सम्मान गरेकी थिईन् । कार्यक्रममा तीज गीतमा सामुहिक नृत्य र नाटक प्रस्तुत गरिएको थियो ।
थप तस्वीरहरु…
भिडियो हेर्नुहोस्…