काठमाडौं । आज गणतन्त्र दिवस । हामीले शुभप्रभातमा सुनेको अशुभ खबर हो- भरतपुरमा मध्यरातमा मतपत्र च्यातियो । राति नै मतगणनास्थलमा झडप भयो र माओवादी कार्यकर्ताले मतपत्र च्याते ।

Advertisement

गणतन्त्र दिवसका दिन एकाबिहानै शुभ खबर सुन्नुपर्ने हाम्रा कानले यस्तो घृणित समाचार सुन्नुपर्‍यो । लोकतन्त्रको मेरुदण्ड मानिने निर्वाचनको चिरहरण गरिएको समाचार ऐतिहासिक दिनमा सुन्नु निकै दुखद घटना हो ।

गणतन्त्र दिवसको बिहान सुनिएको भरतपुर घटनाले हाम्रो देशको लोकतन्त्रलाई ‘औपचारिक प्रजातन्त्र’ मा विकृत गर्ने संकेत देखिएको छ ।

निर्वाचनलाई यसरी विद्रूप बनाउँदै लैजाने हो भने लोकतन्त्र र गणतन्त्रलाई नै एक दिन खर्लप्पै निलिदिन सक्छ । लोकतन्त्रलाई संस्थागत गर्नर्े हो भने निर्वाचनलाई स्वच्छ र शान्तिपूर्ण बनाउन जरुरी छ । निर्वाचन स्वच्छ भएन भने लोकतन्त्र र जनताको शासन औपचारिकतामा मात्रै सीमित हुन जान्छ ।

भरतपुरमा माओवादीको गल्ती

गणतन्त्र दिवसको अघिल्लो रात भरतपुरमा जुन घटना भयो, यसले गणतन्त्र र लोकतन्त्रको धज्जी उडाएको छ । घटनास्थलबाट पक्राउ परेका वाइसीएलका कार्यकर्ताले मतपत्र च्यातेको सुरक्षा निकायको भनाइ छ, जुन समान्य घटना होइन ।

माओवादीका नेताहरु आफ्ना कार्यकर्ताले मतपत्र च्यातेका हुन् वा होइनन् भन्नेबारे केही पनि नबोली अहिलेसम्म चुप्पी साँधेर बसेका छन् । माओवादीको मौनतालाई हेर्दादेखि भरतपुरमा उनीहरुले हार्ने स्थिति देखेपछि योजनावद्ध रुपमा मतपत्र च्यातेका त होइनन् ? यस्तो शंका गर्नुपर्ने स्थिति छ ।

भरतपुर महानगरपालिकाको चुनावी प्रशंगलाई समीक्षा गर्दा त्यहाँ माओवादीले दुईवटा गल्ती गरेको देखिन्छ- पहिलो रेणु दाहाललाई मेयरमा उठाउनु । र, दोस्रो-हारजितको निर्णय हुनै लागेका बेला ‘वाइसिएल झ्वाँक’ झिकेर मतपत्र च्यात्नु ।

यी दुबै घटनाक्रम माओवादीका गल्ती हुन् । पहिलो घटनाले परिवारवाद र अप्राकृतिक गठबन्धनलाई इंगित गर्छ भने दोस्रोले अलोकतान्त्रिक एवं असभ्यताको पराकाष्टा झल्काउँछ ।

भरतपुरमा माओवादी तेस्रो शक्ति थियो । यो अवस्थामा उसले उपमेयर लिएर कांग्रेसले मेयरमा तालमेल गरेको भए त्यो प्राविधिकरुपमा (सैद्धान्तिक नभए पनि ) ‘नेचुरल’ हुने थियो ।

कांग्रेसकी पार्वती शाह मेयरमा र रेणु दाहाल उपमेयरमा उठेको भए बल्ल त्यो प्राविधिक हिसाबले सुल्टो गठबन्धन ठहरिने थियो । तर, माओवादीले उल्टो निर्णय गर्‍यो ।

एकातिर मेयरमा प्रचण्डकी छोरीलाई उठाउनु र अर्कोतर्फ कांग्रेसका मतदाताले उनलाई नाम्लो लगाएरै बोक्नुपर्ने स्थिति आउनु आफैंमा ‘असन्तुलित शक्ति सन्तुलन’ हो ।

माओवादीले गरेको लज्जास्पद कार्य के हो भने अप्राकृतिक ढंगले गरिएकै गठबन्धन पनि अन्तिम मतपरिणाम आउँदै गर्दा रेणु दाहालका कार्यकर्ताले मतपत्र च्याते ।

माओवादी पार्टीले लोकतन्त्र र अनुशासन भन्दा पनि यस्तै-यस्तै गर्न सिकाएको रहेछ भन्ने प्रश्न पनि यो घटनाले उठाएको छ । कमसेकम मतगणस्थलमा छिरेका कार्यकर्तालाई त माओवादीले लोकतन्त्रको पाठ सिकाउनुपर्ने हो । लोकतन्त्रमा हार स्वीकार्न सिकाउनु पर्ने हो ।

कुनै चकचक गरी रेणुले हार स्वीकार गर्ने तत्परता देखाएको भए उनको जीत हुने थियो । उनले देवी ज्ञवालीकै हाराहारीमा मत ल्याएर सम्मानजनक स्थान बनाएकै थिइन् ।

भाग्य विधाता बलिया भएका कारण एकैचोटि महानगरको मेयरमा चिठ्ठा पारेकी रेणुले हार स्वीकार्न नसक्नु उनको ठूलो कमजोरी हो । यसले उनको राजनीतिक भविश्यलाई समेत नकारात्मक असर पार्ने छ । र, यही कुरा देवी ज्ञवाली र एमालेका हकमा पनि सत्य हो । जसरी पनि जित्ने लालसाले लोतन्त्रलाई कुरुप बनाउँछ ।

भरतपुरमा मतगणनास्थलभित्र गुण्डातन्त्रको प्रहसन भइरहँदा काठमाडौंमा रञ्जु दर्शनाले मेयरका बिजेता विद्यासुन्दर शाक्यलाई खादा लगाएकार बधाई अर्पण गरेको सुखद समाचार आयो । भीआइपीकी छोरी र उनका कार्यकर्ताले देखाएको असुन्दर हर्कत र सर्वसाधारण जनताकी छोरी रञ्जुले देखाएको लोकतान्त्रिक सौन्दर्य । यी दुई तुलनायोग्य व्यवहार होइनन् । एकपटक रेणु दाहालले रञ्जु दर्शनाबाट सिक्ने कि ? लोकतान्त्रिक संस्कार के हो ?

नेपालमा हुने गरेका चुनाव र त्यसलाई कुरुप बनाउने केही दृश्यबारे चर्चा गरौंः

प्रचण्डले सिराहाबाट कसरी चुनाव जिते ?

दोस्रो संविधानसभामा माओवादी अध्यक्ष प्रचण्डले काठमाडौं १० र सिराहा ५ बाट उम्मदेवारी दिएका थिए । काठमाडौंमा उनी हारे । सिराहामा एमालेका लीलानाथ श्रेष्ठलाई ९२१ को झिनो मतान्तरले हराउँदै प्रचण्ड विजयी बने । त्यसबेला प्रचण्डले १५ हजार २४४ मत पाएका थिए । देशैभरि पराजय भोगेको माओवादीले दोस्रो संविधानसभामा २६ सीटमात्रै जित्यो ।

तर, प्रचण्डले सिराहामा प्राप्त गरेको जितलाई वास्तविक जित नभएको आरोप विशेष गरी एमालेका कार्यकर्ताहरुले लगाउने गरेका छन् । प्रचण्डलाई राज्यपक्षले नै जिताइदिएको र मतगणनास्थलममै ‘बाक्सा साटिएको’ भन्नेजस्ता प्रचारबाजीहरु हुँदै आएका छन् ।

के मतगणनास्थलमा रहेका मतपेटिकाहरु साट्न सम्भव हुन्छ ? मतगणना स्थलभित्रैबाट मतपत्रहरु यता-उता पार्न सम्भव छ ? यदि त्यस्तो सम्भव हुन्थ्यो भने ०६४ सालको चुनावमा माधवकुमार नेपाललाई दुई ठाउँबाट हार्न किन दिइयो ? केपी ओलीलाई झापा ७ बाट किन जिताइएन ?

प्रचण्डले सिराहामा जितेका हैनन्, मतगणना गर्दा यताउता पारेर जिताइएको हो भन्ने तर्कलाई पत्याउने हो भने मतगणना स्थलभित्रैबाट गडबडी गर्न सकिन्छ भन्ने कुरो पत्याउनुपर्ने हुन्छ ।

नेपालको राजनीतिमा सधैं ‘कहावत’ बनिरहेको ‘प्रचण्डले सिराहामा जितेका हैनन्’ भन्ने आरोपले हाम्रो निर्वाचन प्रणालीलाई विद्रूप र अविश्वसनीय बनाउने पक्कापक्की छ ।

सिराहा-५ मा प्रचण्डले गडबडी गरेरै जितेका हुन् भने उनको उम्मदेवारी बदर गराउन निर्वाचन आयोगमा उजुरी गर्न सकिन्थ्यो र गरिनु पनि पर्दथ्यो । अन्यथा यसबाट निर्वाचन आयोग र निर्वाचन प्रणालीमाथि नै जनताको विश्वास गुम्न सक्छ ।

‘बाक्सा साट्ने’ कुरा

निर्वाचन प्रणालीमा आशंका र अविश्वास बढाउने विभिन्न गतिविधि हुने गरेका छन् । अघिलो साता प्रधानमन्त्री प्रचण्ड आफ्नी छोरीलाई चुनाव जिताउन चितवन झरेको चर्चा चल्यो ।

जनताले मतदान गरेर मतपेटिकाभित्र खसाइसकेको मतलाई साटासाट गर्न वा हेराफेरी गर्न सम्भव छ कि छैन ? त्यसो गर्न सम्भव छ भन्ने मान्यताकै आधारमा प्रचण्डमाथि यस्तो आरोप लागेको हुन सक्छ । तर, यो लोकतन्त्रलाई खुइल्याउने हरकत हो ।

दोस्रो संविधानसभामा धाँधली भएकै हो त ?

दोस्रो संविधानसभामा हार व्यहोरिसकेपछि माओवादीले मतगण्ना बहिस्कार गर्नेसम्मको कार्यक्रम घोषणा गर्‍यो । मतगणना केन्द्रबाट मतपेटिमा सदरमुकाम ल्याउँदा बाटैमा सेनाले मतपत्र साटफेर गरेर आफूहरुलाई हराएको माओवादीले निकै ठूलो स्वरमा आरोप लगायोे । कतिपय मतपत्रहरु विभिन्न ठाउँमा फेला पारिएको भन्दै समाचारहरु आए ।

माओवादीले संविधानसभा निर्वाचनको परिणामलाई नै नस्वीकार्ने धम्की दिन थालेपछि दोस्रो संविधानसभामा भएको धाँधलीबारे अनुसन्धान गरी छानविन गर्ने संसदीय समितिसमेत गठन गरिएको थियो, जसले अहिलेसम्म कुनै रिपोर्ट दिएको छैन ।

मतपेटिका साटफेर गरेर धाँधली हुन्छ भन्ने विश्वास कांग्रेस र एमालेमा मात्रै होइन, माओवादीमा पनि रहेछ भन्ने कुरा दोस्रो संविधानसभामा माओवादीले लगाएको धाँधलीको आरोपबाट स्पष्ट हुन्छ ।

तर, माओवादीले जनविश्वास गुमाएर हार व्यहोरेको वास्तविकता नबुझी एकोहोरो धाँधलीको आरोप लगायो । तर, पछि यसबारे छानविनको कुनै माग अघि बढाएन । यसवीचमा माओवादी आफैं सरकारमा गयो, तैपनि उसले दोस्रो संविधानसभाको ‘धाँधली’बारे एक शब्द पनि बोलेन ।

नयाँ होइन

नेपालमा निर्वाचनको परम्परालाई हेर्दाखेरि हार्ने पक्षले जहिल्यै धाँधलीको कुरो उठाउन गरेको देखिन्छ । यसमा माओवादीजस्तै एमाले पनि अग्रपंक्तिमै देखिन्छ ।

पहिलो चरणको स्थानीय चुनावमा पहिलो दल बनेता पनि अपेक्षाकृत ‘स्कोर’ हात नपारेको एमालेे निर्वाचनमा धाँधली भएको भन्दै छानविनको माग गरेको छ । र, त्यसबारे छानविन गर्न संसदीय समिति बनाउने सहमति पनि दलहरुवीच भइसकेको अवस्था छ ।

पहिलो चरणको स्थानीय चुनावमा दोलखाका विभिन्न ठाउँमा झडप र धाँधलीका घटनाहरु भएकै हुन् । तर, यसबारे सरकारले छानविन आयोग बनाउने र कुनै कारवाही नै नगरी छाडिदिने प्रचलन देखिँदै आएको छ । यसपालि स्थानीय चुनावको धाँधलीबारे गर्ने भनिएको छानविन पनि ०७० सालको चुनावका बेलाको जस्तै हुने अनुमान लगाउन सकिन्छ ।

जनताले मतदान गरिसकेपछि मतगणनास्थलमा हुने धाँधलीका विषयमा चल्ने गरेका यस्ता चर्चाहरु नयाँ चाहिँ होइनन् ।

पहिलो स्थानीय चुनाव ०४९ सालमा नेपाली कांग्रेसले देशैभरि धाँधली गरेर चुनाव जितेको आरोप एमालेले लगाउँदै आएको छ । त्यसबेला कांग्रेसको ज्यादती देखेर मदन भण्डारी फिल्डबाट रुँदै फर्केको एमाले नेताहरु सुनाउँछन् ।

त्यसैगरी ०५४ सालको स्थानीय चुनावमा एमालेले सत्ताको दुरुपयोग गरेर धाँधली गरेको आरोप नेपाली कांग्रेसले लगाउने गरेको छ । त्यसबेला एमालेले स्थानीय तहमा दुई तिहाई सीटमा विजय प्राप्त गरेको थियो ।

यही आरोप-प्रत्यारोपकै सिलसिलामा गत बैशाख ३१ गतेको चुनावमा सत्तारुढ दलहरुबाटै धाँधली भएको भन्दै एमालेले छानविनको माग गरेको छ ।

उता झापामा एमाले नेता केपी ओलीले कृष्ण सिटौलासँग भित्री साँठगाँठ गरेर संसदीय चुनावमा आफ्नै पार्टीका उम्मदेवार युक्त भेटवाललाई ‘बलीको बोको’ बनाएको चर्चा पनि यदाकदा हुने गरेको छ ।

मतपेटिकाहरु झापाको चन्द्रगढीसम्म लैजाँदा बाटैमा साटिन्छन् भन्ने राजनीतिक ‘मिथक’ झापामा सामान्यजस्तै छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!