
सुनसरी, १८ असार । पूर्वी भेगमा २ दिनयताको वर्षासँगै सप्तकोशी नदीको वहावमा उतार चढाव हुने क्रम जारी छ । पछिल्लो मापन अनुसार सप्तकोशी नदीमा पानीको वहाव १ लाख ६ हजार ७ सय ९० क्युसेक प्रतिसेकेण्ड रहेको छ ।
पानीको वहावमा आएको उतारचढावपछि ब्यारेजका १६ वटा ढोका खोलिएका छन् । सप्तकोशी नदीको जलस्तरमा उतार चढावको क्रम जारी रहेपनि आइतबारको तुलनामा सोमबार नदीको वहावमा कमी आएको छ ।
एक लाख ३१ हजार क्युसेक पुगेको नदीको बहाव क्रमश घट्दो क्रममा रहेको छ । पूर्वी पहाडी जिल्लामा अविरल वर्षा भएको खण्डमा कोशी नदीमा पानीको सतह बढ्ने गर्छ ।
मौसम विभागले जलस्तर बढ्न सक्ने भन्दै नदी किनारमा रहेकाहरुलाई सर्तक रहन अपिल गरेको भएपनि सुनसरी प्रशासनले सप्तकोशी नदीमा हालसम्म कुनै खतरा भने नरहेको जनाएको छ ।
सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले कोशीका सबै तटबन्ध सुरक्षित रहेकाले आत्तिनु पर्ने अवस्था नरहेको बताउनु भयो ।















