धनकुटा, १० असार । जिल्ला अस्पताल धनकुटामा नवजात शिशु स्याहार कक्ष (एस.एन.सी.यू) सञ्चालन गरिएको छ । प्रतिनिधि सभाका सदस्य राजेन्द्र राईले एस.एन.सी.यू. कक्षको उद्घाटन गरेका हुन् ।
उद्घाटन गर्दै राईले जिल्ला अस्पताललाई व्यवस्थित गर्न र सेवा विस्तार गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । नव शिशु स्याहार कक्ष सञ्चालन भएपछि धनकुटासँगै छिमेकी जिल्ला भोजपुर, संखुवासभा र तेह्रथुमका शिशुको उपचारमासमेत सहज भएको जिल्ला अस्पतालका प्रमुख डा.फणिन्द्र वरालले बताए ।
उनका अनुसार नवजात शिशुमा देखिने जण्डीस, श्वास–प्रश्वास जस्ता समस्याको उपचारमा अव सहज हुनेछ । नवजात शिशुको उपचारका लागि रेडियन वारमा ३, फोटो थेरापी मेसिन २ थानसहित बिभिन्न ९ वटा उपकरणको व्यवस्थापन गरिएको छ ।
१९७० सालमा स्थापना भएको जिल्ला अस्पतालमा एक सताब्दीपछि नवजात शिशुको सहज उपचारका लागि २० लाखको लगानीमा एस.एन.सी.यू. कक्ष सञ्चालन गरिएको हो ।
उद्घाटन कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष सुनिल कुमार डंगोलले जिल्ला अस्पतालमा गरिब एवं असाहय बिरामीको निःशुल्क उपचार गरिने बताए ।
अस्पतालमा अत्याधुनिक भिडियो एक्सरे सञ्चालन गरिएपछि बिरामीलाई धेरै सहज भएको दावी गर्दै उनले साउनदेखि हाडजोर्नी र बालविशेषज्ञ उपचार सेवा विस्तार गरिने जानकारी दिए ।
सो अवसरमा पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले जिल्ला अस्पतालको स्तरोन्नती गर्दै बिरामीले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने बताएका छन् ।