संगालोखबर सम्वाददाता

धनकुटा, २२ जेठ । धनकुटामा मंगलवार बिभिन्न कार्यक्रम गरेर विश्व वातावरण दिवस मनाइएको छ । दिवसको अवसरमा धनकुटा बजार, हिले लगायत स्थानमा बृक्षरोपण, सरसफाई लगायत कार्यक्रम गरिएको हो ।

Advertisement

हिले माविमा गिंगोबाइबल र म्यापल रोपियो

हिले माविको हाताभित्र गिंगोबाइबल र म्यापलका बिरुवा रोपिएको छ । ‘एक विद्यार्थी एक फूल र एक शिक्षक एक फलफूल बिरुवा रोपण’ अभियान बनाई अभियान सार्थक पार्न बिरुवा रोपण गरिएको बिद्यालयका प्रधानाध्यापक रमेश घिमिरेले बताए ।

गिंगोबाइबलको पत्ता नियमित सेवन गरेमा स्मरण शक्ति बढ्ने गर्छ भने म्यापलले धेरैमात्रामा अक्सिजन उत्पादन गर्छ । धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले हिले माविले परीक्षण काम गरेकाले सफल भएमा नगरपालिकाले यसलाई अभियानको रुपमा अघि बढाउने बताए ।

तमोर भ्यालीद्वारा सरसफाई कार्यक्रम

विश्व वातावरण दिवसको अवसरमा धनकुटाको तमोर भ्याली बोडिङ्ग स्कुलले सरसफाई कार्यक्रम गरेको छ । चुलिबन, डाँडागाउँ, मदनचौक, हुलाकटोल, परिचयमोड लगायत स्थानको सरसफाई गरिएको हो ।

हरियो बन नेपालको धन, रुख रोपौं, वातावरण जोगाऔं जस्ता नारा लेखिएका प्लेकार्ड र ब्यानरसहित सहभागि बिद्यार्थी र शिक्षकले बजार क्षेत्रको सरसफाई गरेको तमोर भ्यालीका प्रधानाध्यापक दुर्गा लुईटेलले जानकारी दिए ।

नगरपालिकाले गर्यो बिक्षरोपण र पुरस्कार वितरण

विश्व वातावरण दिवसमा धनकुटा नगरपालिकाले वृक्षारोपण तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ । प्लाष्टिक प्रदुषण निर्मुल पारौं, सके पुनः प्रयोग गरौँ, नसके बहिष्कार गरौँ भन्ने नारासहित कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा धनकुटाको परिचय मोडमा धुपीका विरुवा रोपिएको छ ।

यस्तै फोहोरमैला र सरसफाईको क्षेत्रमा काम गरेवापत माथिल्लो कोप्चे टोलवस्ती संगठनलाई एक लाख र सम्मान पत्र प्रदान गरियो । नगरपालिकाका वातावरण शाखा अधिकृत उपेन्द्र खनाल, मिसन मुस्कानकी अध्यक्ष कुशुम राना र धनकुटा–७ की स्थानीय यशोदा शाक्यलाई १०÷१० हजार र सम्मान पत्र प्रदान गरिएको छ ।

प्रहरी कार्यालयमा पनि बृक्षरोपण

त्यस्तै धनकुटाको सुखेपोखरी स्थित १ नम्बर प्रदेश प्रहरी सम्पर्क कार्यालय हाताभित्र पनि बृक्षरोपण गरिएको छ । वातावरण दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालयको आयोजनामा बृक्षरोपण गरिएको हो । वातावरण दिवसको अवसरमा जिल्लाका अन्य सरकारी कार्यालयमा पनि बिक्षरोपण गरिएको छ ।

तस्वीरहरु हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!