काँकडभिट्टा, १७ जेठ । सरकारले झापादेखि डडेल्धुरा जोड्ने मदन भण्डारी राजमार्ग बनाउन ठूलो राशिको बजेट छुट्याएपछि यो मार्गको प्रस्थानविन्दु झापाको बाहुनडाँगीमा खुशीयाली छाएको छ ।

Advertisement

चुरे तथा भित्री मधेशलाई समेट्दै अघि बढ्ने एक हजार २०० किलोमिटर लामो यो राजमार्गको पूर्वीविन्दु मेचीनगर–१ बाहुनडाँगीको पाटापुर रहने छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार प्रस्तुत गरेको आव २०७५/७६ को बजेटमा मदन भण्डारी राजमार्गका लागि रु चार अर्ब ५० विनियोजन गर्नुभएको छ ।

आफ्नो ठाउँबाट राजमार्ग बन्ने खबरले खुशी भएका बाहुनडाँगीका राजनीतिक दलका नेताले यसबाट विकासको नयाँ ढोका खुल्ने विश्वास गरेका छन् । पहिलेदेखि नै चुरे मार्गको रुपमा चर्चा हुँदै आए पनि केपी ओली नेतृत्वको सरकारले पहिलोपल्ट यो मार्गलाई राजमार्ग बनाउने घोषणासहित पर्याप्त बजेट समेत विनियोजन गरेको हो ।

नेपाली कांग्रेसका नेता नीरज घिमिरेले यो राजमार्गको निर्माणका लागि बजेट छुट्याएकोमा सरकारलाई धन्यवाद दिनुभएको छ । बाहुनडाँगी अत्यन्त पछाडि परेको दुर्गम ठाउँ भएकोले राजमार्ग खुल्ने कुराले स्थानीयवासीले थुप्रै अपेक्षा पूरा हुने विश्वास पालेको घिमिरे बताउनुभयो ।

पाटापुरबाट राजमार्गको शुरुवात हुने बजेटमा उल्लेख छ । मेचीनगर–– १ का वडाध्यक्ष पासाङ तामाङ यो राजमार्ग बनाउन अति आवश्यक रहेको बताउनुहुन्छ । पाटापुर गाउँमा ८५ घर रहेको उल्लेख गर्दै उहाँले राजमार्ग बनेपछि गाउँकोस्वरुप बदलिएर ठूलो शहरको अवतार लिने आशा गरिएको बताउनुभयो ।

भारततिरको लोहागढ–पानीघट्टा बाटोमा पिच रहेको बताउँदै उहाँले मेची पुलमा पुल बनाएर मदन भण्डारी राजमार्गलाई भारतीय मार्गसँग जोड्नुपर्ने धारणा राख्नुभयो ।

तत्कालीन बाहुनडाँगी गाविसका अध्यक्ष नीलकण्ठ तिवारीले मदन भण्डारी राजमार्गको घोषणाले महेन्द्र राजमार्ग बन्दाखेरिदेखिकै सपना बल्ल पूरा भएको बताउनुभयो ।

महेन्द्र राजमार्ग बनाउँदाखेरी चुरे मार्गको समेत सर्वेक्षण भएको जनाउँदै नेकपाका नेता समेत रहनुभएका तिवारीले पाटापुरबाट बौद्धमोड–तेलपानी–बँेशीसहर हुँदै शान्तिनगरमा जोडिने यो बाटो अहिले पनि प्रचलनमा रहेको बताउनुभयो ।
मेचीनगर–४ का वडाध्यक्ष नवीन बरालले चुरे क्षेत्रबाट नयाँ राजमार्ग बन्ने कुराले सबैलाई हर्षित तुल्याए पनि यो राजमार्ग बाहुनडाँगीको पाटापुरबाट शुरु हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सरकारको नीति तथा कार्यक्रममा शान्तिनगरबाट शुरु गरिने उल्लेख भएको थियो’, वडाध्यक्ष बराल भन्नुहुन्छ–“कहिले कता कहिले कता भनेर अल्मलाउनु हुँदैन, यो राजमार्ग बाहुनडाँगीको पाटापुरबाटै शुरु हुनुपर्छ ।”

महेन्द्र राजमार्गले मेचीनगरको बाहुनडाँगी, बुद्धशान्तिको बुधबारे, जयपुर र अर्जुनधाराको खुदुनाबारी हुँदै सुनसरीको चतरा जोड्ने बताइएको छ । चतरा–हेटाँैडाबीचको ३०० किलोमिटर बाटोमा भने सरकारले पहिल्यैदेखि पूर्वाधार निर्माण गरिरहेको छ । चतरा मार्गमा फराकिलो कालोपत्रे बनिसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!