
सुनसरी, ६ जेठ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम किरात राज्य हुन सक्ने संकेत गर्नु भएको छ । तथ्य तर्क र ऐतिहासिक आधारहरु भएका कारण पनि प्रदेश १ नाम किरात हुँदा कसैले आपत्ति मान्न नहुने मुख्यमन्त्री राईको तर्क थियो ।
धरान १७ स्थित साकेला पार्कमा शनिबार आयोजित साकेलाको समापन कार्यक्रममा मुख्य मन्त्री राईले किरात राई यायोख्खाले अघि सारेको किरात प्रदेशको प्रस्तावमा प्रशस्तै आधार, तथ्य र तर्क रहेको बताउनुभयो ।
मुख्यमन्त्री रार्ईले अन्य समुदायले प्रस्तुत गरेका प्रस्तावहरु पनि आधारहिन नभएको वताउदै प्रदेशको नामाकरण र स्थायी राजधानी सहमतिकै आधारमा टुंगो लगाउने आश्वासन दिनुभयो ।
कार्यक्रममा यायोख्खाका केन्द्रीय अध्यक्ष तिलक राईले प्रदेशको नाम राख्दा भुगोलको आधारमा नभई पहिचान र ऐतिहासिकतालाई आधार बनाउनु पर्नेमा जोड दिनुभएको थियो ।















