काठमाडौं, १६ चैत । ६ वर्षयता नेपालमा नयाँनयाँ रोग देखिनुका साथै जोखिम पनि बढिरहेको स्वास्थ्य विज्ञले बताएका छन् । उनीहरूका अनुसार यसरी रोगको जोखिम बढ्नुको प्रमुख कारण विश्वव्यापी रूपमा बढ्दै गएको जलवायु परिवर्तन हो ।
बढ्दो जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्ने विषयमा राजधानीमा आयोजित कार्यक्रमका सहभागी विज्ञहरूले विकसित देशले गरेको कामबाट नेपालीले दुःख भोग्नुपरेको बताएका छन् । बिहीबार सुरु भएको सो कार्यक्रमले जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी विश्वव्यापी अनुसन्धानको एजेन्डा विकासका लागि मार्ग निर्देश गर्ने जनाइएको छ ।
कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्रालयका सहसचिव शंकरमणि ज्ञवालीले जलवायु परिवर्तनको प्रभाव नेपालको ठूलो भागमा परिरहेको बताए । मुख्य गरी तराई र पहाडका नागरिक बढी समस्यामा पर्न थालेको उनले बताए । ‘जलवायु परिवर्तनको उचित मूल्यांकन गर्नुपर्छ,’ उनले भने, ‘तापक्रममा देखिएको फेरबदलले तराई र पहाडमा पानीका मूलहरू सुक्न थालेका छन् ।’
विकसित देशले समस्या उब्जायो
पछिल्लो ३० वर्षमा मानव गतिविधि अनपेक्षित रूपमा बढिरहेको छ । यही कारण ३० वर्षमा विश्मा करिब ०.८५ डिग्री सेल्सियस गर्मी बढेको छ । ‘सागरको स्तर बढ्दै गएको छ,’ नेपाल हेल्थ रिसर्च काउन्सिलका वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले भने, ‘हिमालमा हिउँ तीव्र गतिले पग्लिन थालेका छन् र वर्षाको ढाँचा पनि परिवर्तन भएको छ । मौसम बदलिका घटनाहरू तीव्र र बारम्बार भइरहेका छन् ।
जसका कारण मानव स्वास्थ्यमा विभिन्न रोग थपिइरहेका छन् ।’ डा. धिमालले जलवायु परिवर्तनमा समस्या ल्याउने नेपालजस्ता सामान्य देश नभई धनी देश भएको स्पष्ट पारे । उनले धनी देशको गैरजिम्मेवारीका कारण नेपालजस्ता देशले समस्या झेल्नुपरेको आरोप लगाए । उनका अनुसार जलवायु परिवर्तनमा आएको समस्याले उच्च भूभागमा समेत कीटजन्य रोगको जोखिम बढाएको छ ।
जलवायु परिवर्तनको जोखिममा देशभरका सबै नगरिक परेका छन् । डा. धिमालका अनुसार कोहीमा कम र कोही बढी भने हुन सक्छ । विशेष गरी,गरिब देशमा बस्ने बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीमा जलवायु परिवर्तनको प्रभाव बढी छ । धिमालका अनुसार जलवायु परिवर्तनले सर्ने रोग र नसर्ने रोगको जोखिम उच्च बनाएको छ । तर, आधिकारिक रूपमा अनुसन्धान नभएका कारण जोखिमको निश्चित तथ्यांक भने आउन नसकेको उनको भनाइ छ ।
‘अतिवृष्टिको पानी पहाडमै रोक्नुपर्छ’
विश्वव्यापी रूपमा भइरहेको जलवायु परिवर्तनले नयाँ भाइरसलाई नेपाल भित्रन र एक ठाउँबाट अर्को ठाउँमा पुर्याउन प्रसय दिएको छ । स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठका अनुसार यही गतिमा जलवायु परिवर्तन हुँदै जाने र औषधिको मापदण्ड पुरानै रहने हो भने, केही समयपछि नेपालमा पाइने औषधिले समेत काम गर्न छाड्नेछन् ।
एक वर्षमा १ सय ६६ दिन ८ एमएममाथि पानी पर्छ । १८ दिनभन्दा बढी झरी पर्छ । ४ दिन अति धेरै पानी पर्छ । ४५ दिन खडेरी पर्छ । खडेरी परेको समयमा देशभर पानीको अभाव हुने गरेको छ । डा. श्रेष्ठका अनुसार खडेरी परेको ७५ दिनलाई धान्न २२ दिन परेको पानी पहाडमा सञ्चय गर्ने व्यवस्था राज्यले गर्नुपर्ने बताए ।