कृष्ण कट्टेल

काठमाडौं, २१ फागुन। संघीय संसद्का ३३४ मध्ये ३२६ सांसदले आइतबार शपथ लिएका छन् । प्रतिनिधिसभाका २७५ मध्ये २७१ र राष्ट्रिय सभाका ५५ सांसदले शपथ गरेका हुन् ।

Advertisement

राष्ट्रपतिबाट मनोनीत राष्ट्रिय सभाका ३ सांसदको शपथ सर्वोच्च अदालतको आदेशका कारण हुन सकेन । प्रतिनिधिसभाका ४ र राष्ट्रिय सभाका एक सांसद शपथग्रहणमा अनुपस्थित रहे ।

दुवै सदनको बैठक आज
संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै सदनको पहिलो बैठक आज (सोमबार) बस्दै छ ।

संघीय संसद्को पहिलो अधिवेशनलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने र त्यसवेला दुवै सदनको संयुक्त बैठक बस्नुपर्ने संवैधानिक व्यवस्था छ ।

तर, पहिलो बैठक भने छुट्टाछुट्टै बस्दै छ । सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले संविधानले पहिलो अधिवेशनको पहिलो बैठक नभनेकाले अधिवेशन अवधिभरको जुनकुनै बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने र त्यसवेला मात्रै प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्ने बताए ।

‘विशेष समयमा वा सरकारको नीति तथा कार्यक्रम पेस हुने वेलामा मात्रै राष्ट्रपति संसद्मा आउनु हुने प्रचलन छ ।

पहिलो अधिवेशनको धेरै बैठक बस्छन्, पहिलो बैठकमा नै राष्ट्रपति उपस्थित हुनुपर्ने र दुवै सदनको संयुक्त बैठक बस्नुपर्ने भन्ने होइन । पहिलो अधिवेशनको कुनै पनि बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने हुन्छ,’उनले भने ।

सोमबार अपराह्न ४ बजे दुवै सदनको बैठक सम्बन्धित सदनको हलमा बस्नेछ । पहिलो बैठकमा अधिवेशन आह्वान भएको जानकारीसहितको राष्ट्रपतिबाट प्राप्त पत्र भने पढेर सुनाइने संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको पहिलो बैठकले बैठक सञ्चालनको अन्तरिम कार्यविधि पारित गर्नेछ भने सभामुखको निर्वाचन मिति घोषणा गर्नेछ ।

त्यस्तै, राष्ट्रिय सभाको पहिलो बैठकले राष्ट्रिय सभा बैठक सञ्चालनको अन्तरिम कार्यविधि पारित गरेर अध्यक्षको निर्वाचन मिति तोक्नेछ ।

सचिवालयले तयार पारेको अन्तरिम कार्यविधि आइतबारको सर्वदलीय बैठकले स्वीकृत गरिसकेकाले सो कार्यविधि सोमबारको दुवै सदनको पहिलो बैठकले पारित गर्न लागेको हो ।

शपथग्रहणमा अनुपस्थित प्रतिनिधिसभाका ४ सांसद 
रेशमलाल चौधरी – राजपा
महेन्द्र राय यादव – राजपा
धर्मशिला चापागाईं – माओवादी केन्द्र
टोपबहादुर रायमाझी – माओवादी केन्द्र

शपथग्रहणमा अनुस्थित राष्ट्रिय सभाका १ सांसद
रमेशप्रसाद यादव – राजपा

सभामुखदेखि राष्ट्रिय सभा अध्यक्ष निर्वाचनको कार्यतालिका
प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचनको कार्यतालिका सर्वदलीय बैठकले स्वीकृत गरेको छ ।

संघीय संसद् सचिवालयले सो कार्यतालिका बनाएको हो । कार्यतालिकाअनुसार २६ फागुनमा सभामुखको निर्वाचन हुनेछ भने ३० फागुनमा राष्ट्रिय सभा अध्यक्षको निर्वाचन गरिनेछ ।

त्यस्तै, प्रधानमन्त्री केपी ओलीले २७ फागुनमा प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिनेछन् । त्यस्तै २ फागुनमा उपसभामुख र ४ फागुनमा राष्ट्रिय सभाका उपाध्यक्षको निर्वाचन मिति तोकिएको छ ।

राष्ट्रपतिको निर्वाचन २९ फागुनमा 
संघीय संसद् र प्रदेश सभा गठन भएको एक महिनाभित्र राष्ट्रपतिको निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

राष्ट्रपतिको निर्वाचनको मिति निर्वाचन आयोगले तोकेर सरकारलाई जानकारी गराउनुपर्छ । सोहीबमोजिम आयोगले २९ फागुनका लागि राष्ट्रपतिको निर्वाचन मिति तोकिसकेको छ ।

२९ फागुनमा राष्ट्रपतिको निर्वाचन हुने भएकाले संघीय संसद्को दुवै सदनमा कुनै पनि कार्यक्रम नराखिएको संसद् सचिवालयले जनाएको छ ।

संघीय संसद्का सांसद र प्रदेश सभाका सांसद राष्ट्रपतिको निर्वाचनका मतदाता हुन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन ऐनअनुसार संघीय संसद्का एक सदस्यको मतभार ७९ तोकिएको छ भने प्रदेश सभाका एक सदस्यबराबरको मतभार ४८ तोकिएको छ ।

७ वटै प्रदेश सभाका ५५० र संघीय संसद्का ३३४ गरी ८८४ सदस्य राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाता हुन् ।

प्रतिनिधिसभा कति सांसदले कुन भाषामा लिए शपथ
नेपाली– २२४
मैथिली– १८
हिन्दी– ७
भोजपुरी– ७
थारू– ६
मगर– २
नेपाल भाषा (नेवारी)– २
बज्जिका– १
तामाङ– १
उर्दू– १
अवधि– १

राष्ट्रिय सभा कति सांसदले कुन भाषामा लिए शपथ
नेपाली – ५२
मैथिली– २
बज्जिका – १

राष्ट्रपतिको निर्वाचन कार्यक्रम आजबाट
२९ फागुनको राष्ट्रपतिको निर्वाचन प्रक्रिया आज (सोमबार)बाट सुरु हुँदै छ । निर्वाचन कार्यतालिकाअनुसार २१ फागुनमा मतदाता नामावली प्रकाशन गर्ने, २३ मा उम्मेदवारी मनोनयन र २९ फागुनमा निर्वाचन तोकिएको छ । राष्ट्रपति निर्वाचनका लागि संसद् भवन परिसर नयाँ बानेश्वरमा निर्वाचन अधिकृतको कार्यालय तोकिएको छ ।

यस्तो छ सभामुख र राष्ट्रिय सभा अध्यक्ष निर्वाचनको कार्यतालिका
२५ फागुन : १० देखि दिउँसो १ बजेसम्म सभामुखका लागि प्रस्तावको सूचना दर्ता तथा दिउँसो १ः३० बजे सभामुख पदका लागि परेको उम्मेदवारीको सूची सार्वजनिक
२६ फागुन : दिउँसो १ बजे सभामुखको निर्वाचन प्रक्रिया
२७ फागुन : दिउँसो १ बजे प्रधानमन्त्रीले सभासमक्ष विश्वासको मत प्राप्त गर्न प्रस्ताव प्रस्तुत गर्ने र छलफल गरी मतविभाजन गरेर निर्णयार्थ प्रस्तुत गर्ने ।
२८ फागुन : राष्ट्रिय सभाका अध्यक्षको मनोनयन दर्ता र सूची सार्वजनिक
३० फागुन : राष्ट्रिय सभाका अध्यक्षको निर्वाचन
२ चैत : प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन
४ चैत : राष्ट्रिय सभाका उपाध्यक्षको निर्वाचन

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!