काठमाडौँ, २५ पुस । रुस र भेनेजुएलाले आफ्नै डिजिटल मुद्रा (क्रिप्टोकरेन्सिज) सञ्चालनमा ल्याउने घोषणा गरेका छ । दुई मुलुकले अमेरिकी वित्तीय प्रतिबन्धको सामना गर्न यो एउटा राम्रो विकल्प हुन सक्ने भन्दै उक्त मुद्रा चलनमा ल्याउने तयारी गरेका हुन् । हालै ‘बिटक्वाइन’ को सफलताले यी दुई मुलुकलाई त्यस्तै खाले मुद्रा अपनाउन हौस्याएको हो ।

Advertisement
क्रिप्टोकरेन्सीको आफ्नै कुनै आन्तरिक मूल्य नभई यो मूलत: विश्वाससँग जोडिएको कारोबार हो । अनलाइनबाटै लेनदेन गर्न सकिने भएकाले यसमा पारम्परिक वित्तीय प्रणालीजस्तो जटिल छैन । यो प्रविधिलाई पछयाउन सकिने हैसियत हाल कुनै मुलुकसँग नभएको बताइएको छ । नेपालसहित अधिकांश मुलुकमा क्रिप्टोकरेन्सी (बिटक्वाइन) माथि प्रतिबन्धका बाबजुद अघिल्लो वर्ष यसले ऐतिहासिक छलाङ मार्न सफल भयो ।
अमेरिकीको निजी रेडियो नेसनल पब्लिक रेडियो (एनपीआर) सँगको साक्षात्कारमा पिटरसन इन्स्टिच्युट फर इन्टरनेसनल इकोनोमिक्सकी मोनिका डे बोल्लेले भनिन्, ‘यी दुई मुलुकविरुद्ध वित्तीय प्रतिबन्ध लगाइएको छ । यस्तो अवस्थामा मुलुकको आर्थिक कारोबार ओरालो लाग्न सक्छ । विकल्पहरूको खोजी गरिएको हो । त्यसै क्रममा रुस र भेनेजुएलाले ‘क्रिप्टोकरेन्सिज’ लाई अवलम्बन गर्ने निर्णय गरेका हुन् ।’
उनले यो मुद्रा प्रणाली पारम्परिक भुक्तानी प्रणालीभन्दा बाहिर हुनु र पूरै रूपमा विकेन्द्रीकृत लेनदेनमा आधारित भएकाले यसलाई ट्रयाक गर्न नसकिने बताइन् । यसको प्रयोगबाट प्रतिबन्धको बेला मुद्रा कारोबारलाई कायमै राख्न कुनै जटिल खालका समस्याको सामना गर्नुपर्ने छैन । कुनै कम्पनीले भेनेजुएला या रुससँग व्यापार गर्न चाहेको छ तर प्रतिबन्धका कारण नसकिरहेको अवस्थामा तिनीहरूले कुनै एउटा क्रिप्टोकरेन्सिजको आधारमा व्यापार कायम गर्न सक्नेछन् ।
यो बाटो अपनाउने कम्पनीहरूले केही चुनौतीहरूको भने सामना गर्नुपर्ने हुन सक्छ । केन्द्रीय बैंकहरू अझै पनि क्रिप्टोकरेन्सीप्रति ढुक्क बन्न नसकिरहेको अवस्थामा त्यसलाई अपनाउनु भनेको यी दुई मुलुकमाथि थप प्रश्न खडा गर्न सक्छ ।
‘न्युयोर्क टाइम्स’ अनलाइनले अमेरिकी प्रतिबन्धका कारण मुलुकले सामना गरिरहेको आर्थिक गतिरोधलाई समाप्त पार्नका रुस र भेनेजुएलाका अधिकारीहरू भर्चुअल मुद्राले सहयोग पुग्ने अपेक्षा गरिरहेको जनाएको छ । दुवै मुलुकले सरकारी स्वामित्वको डिजिटल मुद्रा चलनमा ल्याउने महत्त्वाकांक्षी योजना अघि सारेलगत्तै यसबारे बहस सुरु भएको छ । विज्ञहरूका अनुसार बिटक्वाइनले विश्व वित्तीय प्रणालीमा एउटा नयाँ खालको मुद्रा तथा वित्तीय संरचनाको निर्माण गरिदिएको छ । उनी भन्छन्, ‘यो कुनै पनि केन्द्रीय प्रशासनको नियन्त्रण बाहिर छ, अमेरिकाले समेत यो डिजिटल मुद्रामाथि आफ्नो नियन्त्रण कायम गर्न सकेको छैन ।’
रुस र भेनेजुएलाले आआफ्नै डिजिटल मुद्रा लागू गरेमा विश्वका अन्य मुलुकहरूलाई यो भर्चुअल र ट्रयाकमै पार्न नसकिने मुुद्रालाई नियमित गर्न अग्रसर हुन सक्ने दाबी केही विश्लेषकहरूको छ । विश्व वित्तीय क्षेत्रमा ‘क्रिप्टोकरेन्सिज’ को स्वीकार्यता केही मात्रामा बढ्न थालेको संकेत देखिएका छन् । ‘बैंक अफ इंग्ल्यान्ड’ र ‘पिपुल्स बैंक अफ चाइना’ लगायतका ठूला केन्द्रीय बैंकहरूले बिटक्वाइनले प्रयोग गरेका प्रविधिलाई नजिकबाट नियालिरहेको जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!