काठमाडौं,२१ पुस । करिब १७ वर्षअघि नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुको सूचीमा गलैंचा र गार्मेन्ट अग्रस्थानमा थिए । अहिले दृष्य फेरिएको छ, तिनको स्थान जुस र धागोले लिएका छन् ।
अहिले गलैंचा र गार्मेन्टको निर्यात न्यून परिमाणमा मात्र हुन्छ । भारततर्फ हुने निर्यातमा अहिले जुसको स्थान अग्रपंक्तिमा छ ।
कात्तिक ०७३ सम्म दुई अर्ब ६९ करोड रुपैयाँको गलैंचा निर्यात भएकामा यस वर्ष सोही अवधिमा १२ दशमलव नौ प्रतिशतले घटेर दुई अर्ब ३४ करोड रुपैयाँको मात्र निकासी भएको छ ।
जुस निर्यात भने बर्सेनि बढ्दो क्रममा छ । व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रका अनुसार आर्थिक वर्ष ०७३/७४ मा पाँच अर्ब नौ करोडको जुस निर्यात भयो । आव ०७२/७३ मा तीन अर्ब १८ करोडको जुस मात्र निर्यात भएको थियो ।
पछिल्ला पाँच वर्षको आँकडा केलाउने हो भने जुसको निर्यातमा ठूलो वृद्धि भएको छ । ०७२ सालको शुरुमै आएको भूकम्पका कारण त्यस वर्ष देशबाट कैयन सामान निर्यात हुन सकेनन् । हरेक निर्यातयोग्य वस्तुको आँकडा निकै खुम्चियो ।
जुस निर्यातको अवस्था उस्तै रह्यो । आव ०७२/७३ मा जुस निर्यात खुम्चेर तीन अर्ब १८ करोडमा सीमित भयो ।
केन्द्रका अनुसार आव ०६९/७० मा तीन अर्ब ८० करोड रुपैयाँको जुस निर्यात भएको थियो । यस्तै, ०७०/७१ मा निर्यात बढेर चार अर्ब ४४ करोडको पुगेको थियो । आव ०७१/७२ मा पनि चार अर्ब ७८ करोडबराबर भएको थियो ।
राष्ट्र बैंकका अनुसार आव ०७३/७४ मा जुस, पिना, जुटका सामानलगायत वस्तुको निर्यात बढेको देखिन्छ । अलैंची, ऊनी गलैंचा, तयारी पोशाक, पोलिस्टरलगायत वस्तुको निर्यात भने घटेको छ ।
भारतीय लगानीको डाबर नेपालले ठूलो मात्रामा जुस उत्पादन गर्दै आएको छ । सोही कम्पनीले भारत निर्यात बढाउँदै लगेको हो । तथापि, जुसको कच्चापदार्थ भारतबाटै आयात गर्छ, उक्त कम्पनीले ।
अर्थशास्त्री पोषराज पाण्डे भन्छन्, ‘भारतबाट आयातीत कच्चा पदार्थबाट नेपालमा जुस उत्पादन हुँदा पनि मूल्य अभिवृद्धि हुन्छ, त्यसैले यसलाई पनि हामीले राम्रो मान्नु पर्छ ।’
जुस उत्पादन हुँदा जनशक्ति भने नेपालकै प्रयोग हुन्छ । यस्ता उद्योगधन्दाहरुबाट राज्यलाई करसमेत प्राप्त हुन्छ ।
पछिल्लो समय नेपालबाट धागोको निर्यात पनि बढेको छ । आयात-निर्यात प्रबर्द्धन केन्द्रका अनुसार आव ०७१/७२ मा ६ अर्ब ६६ करोड रुपैयाँबराबरको निर्यात भएकामा आव ०७२/७३ मा पाँच अर्ब ३५ करोडबराबरको भएको थियो । चालु आव ०७३/७४ मा ६ अर्ब ९३ करोड रुपैयाँबराबरको धागो निर्यात भएको छ ।