काठमाडौं, १६ कात्तिक । बामगठबन्धनले काङ्ग्रेसको मूल चरित्र जनता विरोधी रहेको जनाएको छ । आफ्नो चुनावी घोषणा पत्रमा बामगठबन्धनले ‘काङ्ग्रेसको मूल चरित्र कम्युनिष्ट विरोधी, श्रमजीवी जनता विरोधी र लोकतन्त्रलाई निहित स्वार्थ अनुरुप परिभाषित गर्ने खालको छ ।’ भनेर ब्याख्या गरेको छ ।

Advertisement

आफ्नो घोषणापत्रमा काँग्रेसवारे बामगठबन्धनको भनाई छ
–स्थापना कालमा कतिपय सामाजिक–आर्थिक सुधारका कदम चालेको भए पनि नेपाली कांग्रेसले सामन्तवादलाई अन्त्य गर्ने, जनतालाई अधिकारसम्पन्न बनाउने तथा राष्ट्रियतालाई सुदृढ गर्ने बिषयमा सकारात्मक भूमिका खेल्न सकेको छैन । यसको मुख्य नीति सामन्ती निरंकुशतन्त्र र वैदेशीक एकाधिकारवादी पूँजीपति वर्गसंग सम्झौता र आत्मसमर्पणको रहँदै आएको छ ।

–मुख्य रुपमा पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने यस पार्टीका नीतिहरु अहिले मूलतः दलाल तथा विदेशी एकाधिकार पुँजीवादको हित साधनामा केन्द्रित छन् । कम्युनिष्ट पार्टीहरुसँग आफ्नो वर्गीय र पार्टीगत स्वार्थ रक्षाका निम्ति मात्रै सहकार्य गर्ने गरेको नेपाली काङ्ग्रेसको मूल चरित्र कम्युनिष्ट विरोधी, श्रमजीवी जनता विरोधी र लोकतन्त्रलाई निहित स्वार्थ अनुरुप परिभाषित गर्ने खालको छ ।

–यसले कैयन पटक विदेशी हस्तक्षेपलाई निम्त्याएको छ, विदेशीका सामु आत्मसमर्पण गरेको छ र कैयन पटक जनविरोधी काम पनि गरेको छ । यस पार्टीले बहुमत प्राप्त गरेको समयमा नीजिकरणको नाममा राष्ट्रिय उद्योगधन्दा  र सार्वजनिक संस्थानहरु समाप्त गरेको छ ।

–नवउदारबादको पृष्ठपोषण गर्दै राष्ट्रिय अर्थतन्त्रलाई कमजोर तुल्याएको छ । भ्रष्टाचारलाई संरक्षण र संस्थागत गर्ने काम गरेको छ । यस पार्टीले राष्ट्रिय सहमति र एकताको विरोधी काम गर्दै आएको छ । राष्ट्र निर्माण गर्ने कुनै इच्छाशक्ति, दूरदृष्टि र योजना यस पार्टीसंग छैन ।

–राष्ट्रियता र लोकतान्त्रिक मूल्यमान्यताको अवमूल्यन लगायतका कमजोरीहरु हटाएन र जनपक्षीय चरित्र विकास गर्न सकेन भने यसले क्रमशः जनसमर्थन गुमाउँदै जानु अनिवार्य छ ।

–नेपाली कांग्रेस देश, जनता, आन्दोलन र क्रान्तिका पक्षमा उभिएको बेला नेपालका कम्युनिष्टहरुले त्यससँग सहकार्य गरेका छन् । तर जनविरोधी काम र विदेशी हस्तक्षपका अगाडि आत्मसमर्पण गरेको समयमा भने नेपाली कम्युनिष्टहरुले त्यसको आलोचना र विरोध गरेका छन् ।

–भविष्यमा पनि नेपाली कांग्रेससित नेपालका कम्युनिष्टहरुको सम्बन्ध उसले अवलम्बन गर्ने नीति र व्यवहारमा आधारित रहने छ ।

तराई– मधेस केन्द्रित पार्टीहरूमाथि गठबन्धनको बुझाई

–राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम तराई–मधेसलाई मुख्य कार्यथलो बनाएका राजनीतिक पार्टीहरू हुन् । राजपा मूलतः सामन्तवादका अवशेषहरूलाई संरक्षण गर्ने दलाल पुँजीपतिवर्गको एउटा हिस्साको प्रतिनिधित्व गर्ने पार्टी हो ।

–यसले राष्ट्रिय आत्मसमर्पणवादी  नीतिको पक्षपोषण गर्दछ र गरिबमुखी तथा श्रमिकवर्गीय  सामाजिक– आर्थिक रुपान्तरणको  विरोध गर्दछ । यसले राष्ट्रिय स्वाधीनता, राष्ट्रहित, सामाजिक सद्भाव एवं राष्ट्रिय एकतालाई कमजोर पार्ने र सामाजिक न्याययुक्त जनमुखी एवं समाजवादउन्मुख नीतिको  विरोध गर्दछ ।

–संघीयताको कुरा गरेपनि यो पार्टी  स्थानीय तहको स्वशासनको अधिकारको विपक्षममा उभिएको छ ।

–संघीय समाजवादी फोरम राष्ट्रियस्तरमा विस्तारित हुन प्रयाशरत तराई–मधेश आधारित पार्टी हो ।  यसले जातीय र क्षेत्रीय मुद्दालाई रणनीतिका रुपमा अगाडि सारेको  छ । यसका नीति, काम र व्यवहार  सामाजिक सद्भावलाई कमजोर पार्ने किसिमका छन् ।

–यसको विकासक्रमलाई नजिकबाट हेर्दै यसले अवलम्बन गर्ने नीति र कामको आधारमा यसप्रतिको नीति निर्धारण गर्नु पर्दछ  ।

राप्रपावारे गठबन्धन भन्छ

–राप्रपा राजतन्त्रात्मक व्यवस्थाका समर्थक तथा त्यसलाई पुनस्र्थापना गर्न चाहने पूर्व पञ्चहरुले निर्माण गरेको पार्टी हो । आज यो विभिन्न समुहमा विभाजित  छ ।

आफ्ना सामन्तवादी चरित्रमा पर्दा लगाउन राप्रपाका विभिन्न समूहहरुले उदारवाद, लोकतन्त्र र राष्ट्रवादको नारा पनि लगाउने गरेका छन् । राप्रपाका कतिपय नेताहरुमा देशभक्तिको भावना पाइए पनि मूलतः यो अवसरवादी, ढुलमुले र पश्चगामी चरित्रको पार्टी हो ।  राप्रपाका विभिन्न समूहले लिने नीति र गर्ने व्यवहारको आधारमा यी समूहहरूलाई हेर्ने र व्यवहार गरिने छ ।

साना कम्युष्टि पार्टीवारे गठबन्धन भन्छ

–देशमा केही अन्य साना कम्युनिस्ट समूहहरू पनि छन् । उनीहरूको जडसूत्रीय, संकीर्णतावादी, आत्मकेन्द्रित र गुटवादी प्रवृत्तिको आलोचना गर्दै एकता, धु्रवीकरण र सहकार्यमा ल्याउने प्रयत्न गर्नुपर्दछ ।

र, अन्य समूहवारे

–देशमा विभिन्न नाममा देखापर्ने अतिवादी, दक्षिणपन्थी अवसरवादी चरित्रका समूहहरूका सम्बन्धमा तिनका क्रियाकलापको आधारमा उपयुक्त नीति र व्यवहार निर्धारण गरिने छ ।

काँग्रेसले आफ्नो चुनावी घोषणापत्रमा बामगठबन्धनवारे भनेको थियो

घोषणापत्रमा कम्युनिष्टप्रति काँग्रेसले निकै आक्रमक शब्दहरुको प्रयोग गरेको छ । जस्तो कि, काँग्रेस घोषणा पत्रमा कम्युनिष्टवारे भनिएको छ, ‘कम्युनिष्टहरु लोकतन्त्रलाई लोकतन्त्रलाई उपयोग गरेर साम्यवाद ल्याउने चेष्टा गर्छन । कम्युनिष्टहरु शान्तिका पक्षधर हुँदैनन्, तिनले हिंसा, व्यक्ति हत्या र राज्यआतंक सिर्जना गर्ने गर्दछन् ।’

आफ्नो घोषणा पत्रमा काँग्रेसले ‘कम्युनिष्ट गठबन्धनका नेता र योजनाकारहरुले संविधानका आधारभूत लोकतान्त्रिक मूल्य–पद्धति र शासन प्रणालीका माध्यमबाट एकदलीय कम्युनिष्ट पार्टीद्धारा सत्ता नियन्त्रण गर्ने र नेपालमा साम्यवाद स्थापना गर्ने उदेश्य राखेका छन् ।’ भनेको छ ।-रातोपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!