
धनकुटा । पूर्वी पहाडी जिल्लामा पर्ने धनकुटाको भेडेटार एक चर्चित पर्यटकीय गन्तव्य हो । साँगुरीगढी गाउँपालिका-६ स्थित कोशी राजमार्गमा रहेको भेडेटार आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरको छ ।
विषेश गरी चिसो मौसम गर्मी छल्न र मनोरम दृश्यावलोकनका लागि यस क्षेत्रमा पर्यटकहरू आउने गरेका छन् । भेडेटार नजिकै रहेका नाम्जे र नमस्ते झरना लगायतका अन्य पर्यटकीयस्थलले पनि पर्यटकहरूको ध्यान तान्छ ।
अन्तर्राष्ट्रिय सञ्चार संस्था सीएनएनले भेडेटारको नाम्जे बजारलाई १२ औं पर्यटकीय गन्तव्यमध्ये पाँचौ स्थानमा राखेपछि यहाँको थप चर्चा चुलिएको थियो । त्यस कारणले पनि आन्तरिक तथा बाह्य पर्यटकहरू यहाँ आउने गरेका छन् ।

पछिल्लो समय सरकारले दिएको दुई दिने सार्वजनिक बिदाले पनि आन्तरिक पर्यटकको संख्या बढ्न थालेको होटल व्यवसायी लिलाराज लावतीले बताए । पर्यटकको संख्या बढ्दा होटल व्यवसाय पनि चलायमान भएका छन् । जसले यहाँको आर्थिक कारोबार पनि बढ्दै गएको छ ।
नमस्ते झरनाले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । माथिबाट झरेको चिसो पानीको छहरा, जसले पर्यटक आकर्षित हुने गरका छन् । झरनामा आएका पर्यटकहरू बास बस्न भेडेटार नै पुग्ने गरेका छन् ।

यस क्षेत्रमा साना तथा ठूलासहित करिब एक सय होटलहरू सञ्चालनमा छन् । भेडेटारमा भारतीय पर्यटकहरू धेरै आउने गरेका छन् । छिनछिनमा हुने मौसम परिवर्तन यहाँको मुख्य विशेषता रहेको होटल व्यवसायी सुनिता थापाले बताइन् ।
चाडपर्व सकिएपछि पर्यटकको चहलपहल बढ्न थालेको उनले बताइन् । चिसो मौसम, नमस्ते झरना, भेडेटार र नाम्जेबाट देखिने तराईदेखि हिमालसम्मको मनोरम दृश्यले पनि पर्यटकलाई लोभ्याउने अर्का होटल व्यवसायी दीलिप लिम्बुले बताए ।

पर्यटकलाई आकर्षण गर्नका लागि भेडेटारको स्काइ वाक समेत सञ्चालन गरिएको छ । भेडेटारबाट डाँडाबजारको ध्वजेडाँडा, चौविसे गाउँपालिकाको रानी ताल लगायतका स्थानमा पनि पर्यटकहरू पुग्ने गरेका छन् ।
समुन्द्री सतहदेखि १ हजार ४ सय २० देखि १ हजार ७ सय ५ मिटर उचाइमा रहेको भेडेटार गर्मी छल्ने उपयुक्त गन्तव्य हो ।

संगालोखबर 



















