
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-५ स्थित लेगुवा बजारमा छड्के अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय लगायतको संयुक्त टोलीले अनुगमन गरी अखाद्य बस्तु जफत गरेर नष्ट गरेको हो ।
किराना तथा खुद्रा पसलहरूमा गरिएको अनुगमनमा ४७ हजार ४४० रुपैयाँ बराबरको अखाद्य बस्तु जफत गरेर नष्ट गरिएको छ । चाडपर्वको समयमा दैनिक उपभोग्य वस्तु खरिद गर्दा उपभोक्ता नठगिउन भनेर अनुगमनलाई तिव्रता दिइएको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका खरिदार दिवस खड्काले जानकारी दिए ।

अनुगमनका क्रममा किराना पसलमा उपभोग्य मिति नाघेका खाद्यान्न, बेकरी, पेय पदार्थ भेटिएका छन् । यस्तै मूल्य सूची टाँस नगरिएको, बिल नभएको र पसल दर्ता नगरी सञ्चालन गरेको पाइएको छ ।
त्यस्ता पसलहरूलाई आवश्यक प्रक्रिया पूरा गरेर सञ्चालन गर्न तथा कैफियत तत्काल सुधार गर्न अनुगमन टोलीले निर्देशन दिएको छ । पसलमा सामान राख्दा वा उपभोक्तालाई बेच्दा उत्पादन र समाप्त मिति हेर्न आग्रह गरिएको छ । आगामी दिनमा पनि कैफियत भेटिए कारबाही गरिने चेतावनी अनुगमन टोलीले दिएको छ ।

सन्तोष सुवेदी/संगालोखबर 






















