रबिन कटेल/संगालोखबर
तस्वीर: प्रविन अधिकारी/संगालोखबर

विराटनगर । विराटनगरमा आगामी पुस महिनामा विराट एक्स्पो आयोजना गरिने भएको छ । आयोजक उद्योग संगठन मोरङले आज पत्रकार सम्मेलन गरेर पुस २ देखि ११ गतेसम्म ९ औं संस्करणको एक्स्पो गर्ने तयारी भइरहेको जानकारी दिएको हो ।

विराटनगर-१४ स्थित डिग्री क्याम्पस परिसरमा १० दिनसम्म एक्स्पो सञ्चालन हुने उद्योग संगठन मोरङका अध्यक्ष नन्द किशोर राठीले जानकारी दिए । २७५ भन्दा बढी स्टलहरु रहने एक्स्पोमा औद्योगिक क्षेत्रका १५०, कृषि तथा साना उद्योगका ५०, अटोमोबाइल्सका २०, प्रायोजकका १५, खानाका १२ तथा व्यापार विकास सेवा, तालिम प्रदायक र साना उद्यमका १०/१० स्टल रहनेछन् ।

यस पटकको एक्स्पोलाई व्यापार मेलाको रुपमा मात्र नभई नेपालको औद्योगिक तथा व्यवसायिक सम्भावना जोड्ने ‘बिजनेस इकोसिस्टम प्लेटफर्म’ को रुपमा स्थापित गर्न चाहेको एक्स्पोका संयोजक बिपिन काबराले जानकारी दिए ।

२ लाख ५० हजारले अवलोकन गर्ने लक्ष्य राखिएको एक्स्पोबाट २ हजार युवालाई रोजगारीको अवसरसँग जोड्ने र कम्तिमा २० वटा लगानीयोग्य स्टार्टप तथा उद्यमशील परियोजनालाई लगानीकर्ता समक्ष प्रस्तुत गर्ने लक्ष्य राखिएको छ । उद्योग संगठनले यसलाई एक्स्पोको अर्को संस्करण मात्र नभई नयाँ सोच, नयाँ दृष्टिकोण र नयाँ अभियानको सुरुवातको रुपमा लिइएको उल्लेख गरेको छ ।

एक्स्पोमा १० वटा अवसर क्षेत्र र ६ वटा अवसर प्लेटफर्म प्रस्तुत गर्ने तयारी छ । जसलाई विद्यार्थीले भविष्यको सम्भावना बुझ्ने, युवाले सीप र रोजगारीको अवसर भेट्ने, उद्यमीले बजार र लगानीको सम्भावना पहिचान गर्ने तथा उद्योगीले नयाँ ग्राहक र व्यावसायिक साझेदार भेट्ने स्थल बनाइने दावी गरिएको छ ।

एक्स्पोमा हरेक साँझ राष्ट्रिय तथा स्थानीय कलाकारहरूको साथमा सांस्कृतिक कार्यक्रम पनि हुनेछ । आयोजकले उद्योगी व्यवसायी, विद्यार्थी, युवा, उद्यमी, उपभोक्ता तथा सम्पूर्ण सर्वसाधारणहरूलाई एक्स्पोमा सहभागिताका लागि अपिल गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!