संगालोखबर


विराटनगर । विराटनगरमा उद्योग संगठन मोरङ अन्तर्गतको उद्यमशीलता तथा नवप्रवर्तन इकाइको आयोजनामा चारदिने ‘डिजाइन एण्ड थिङ्किङ’ कार्यशाला सञ्चालन भएको छ ।

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका २० जना विद्यार्थी सहभागी कार्यशालामा उत्पादन, कृषि, बैंकिङ तथा वित्तीय क्षेत्रका समस्या पहिचान गरी तिनको सम्भावित समाधानका लागि विभिन्न विकल्प सहितको प्रोटोटाइप तयार गरिएको हो । जसमा विद्यार्थीहरूले आफ्नो अवधारणा प्रस्तुत गरेका छन् ।

समापन कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्द किशोर राठीले उद्योगका जटिल समस्या परम्परागत सोच र अभ्यासबाट मात्रै समाधान गर्न कठिन हुने बताए । उद्योगको आवश्यकता र शैक्षिक क्षेत्रको ज्ञान तथा सिर्जनशीलतालाई एकै ठाउमा ल्याउन डिजाइन थिङ्किङ जस्ता कार्यक्रम प्रभावकारी हुनेमा उनले जोड दिए ।

अध्यक्ष राठीले विद्यार्थीलाई रोजगारी खोज्ने जनशक्तिमा मात्र सीमित नराखी भविष्यमा रोजगारी सिर्जना गर्नसक्ने उद्यमीका रूपमा विकास गर्नुपर्ने उल्लेख गरे । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री रामप्रसाद महतोले प्रदेशलाई उद्यमशील बनाउने अभियानमा युवा पुस्ताको सीप, सिर्जनशीलता र नवप्रवर्तनलाई उद्योगसँग जोड्नुपर्ने बताए ।

उनले कृषि, उद्योग तथा व्यवसायका क्षेत्रमा प्रदेशमा रहेका सम्भावनालाई प्रविधि र नवप्रवर्तनसँग जोड्न सके स्थानीय स्रोतसाधनको प्रभावकारी उपयोगसँगै उत्पादन र रोजगारी बढाउन सकिने उल्लेख गरे ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जिल्लाको औद्योगिक विकासलाई थप गतिशील बनाउन युवाको ज्ञान, सीप र सिर्जनात्मक क्षमतालाई व्यवहारमा उपयोग गर्नुपर्नेमा जोड दिए ।

संगठनका कार्यसमिति सदस्य र उद्यमशीलता तथा नवप्रवर्तन इकाइका संयोजक प्रतीक राउतले उद्योग र शैक्षिक संस्था बीचको सहकार्यलाई व्यवहारिक तहमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउँदै विद्यार्थीको सिर्जनात्मक अवधारणालाई उद्योगसम्म लैजाने वातावरण बनाउनुपर्ने बताए ।

समापनमा विद्यार्थीहरूले प्रस्तुत गरेका प्रोटोटाइपले उद्योग तथा व्यवसायका समस्या र चुनौतीलाई नयाँ पुस्ताले कसरी विश्लेषण गर्छ र त्यसका लागि कस्ता सिर्जनात्मक समाधान पहिचान गर्न सक्छ भन्ने देखाएको उद्योग संगठन मोरङले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!