
विराटनगर । विराटनगरमा महिला कानुनी सचेतना तथा सशक्तीकरण कार्यक्रम आयोजना भएको छ । महिलालाई आफ्ना कानुनी अधिकारबारे जानकारी गराउँदै सामाजिक तथा कानुनी रूपमा सक्षम बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
करिब ५० जना महिलाको सहभागिता रहेको कार्यक्रममा महिलाका संवैधानिक तथा कानुनी अधिकार, घरेलु हिंसा, वैवाहिक बलात्कार, साइबर अपराध, बाल अधिकार, प्रजनन स्वास्थ्य तथा महिलाको सम्पत्तिमाथिको अधिकारलगायतका विषयमा जानकारी गराइएको छ ।
सहभागी महिलाले आफूले भोगेका समस्या तथा कानुनी जटिलताका विषयमा समेत आफ्ना प्रश्न तथा जिज्ञासा राखेका छन् । श्रेया बिष्ट, अनिष कुमार कट्टेल, विशेष अछामी, स्वस्तिका मल्ल, माङ्सा लिम्बू, अबिना कटवाल, पूर्णिमा निरौला र स्मृति राईलगायतले विभिन्न विषयमा सहजीकरण गरेका थिए ।
महिलाहरूले आफ्ना अधिकारबारे जानकारी पाएमा हिंसा तथा विभेदविरुद्ध आवाज उठाउन तथा कानुनी उपचारका लागि सम्बन्धित निकायसम्म जान सहज होस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको सहजकर्ता स्वस्तिका मल्ले जानकारी दिइन् ।
श्रेया बिष्टको पहलमा आयोजित कार्यक्रममा सहभागी महिलाले कानुनी अधिकार र त्यसको प्रयोगका विषयमा व्यवहारिक जानकारी प्राप्त भएको बताए ।

संगालोखबर 




















