संगालोखबर


विराटनगर । विराटनगरको जैन भवनमा असोज २२ गतेबाट सुरु हुने ‘विराट ट्रेड फेयर’ को तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक विराट व्यापार संघले आज पत्रकार सम्मेलन गर्दै मेलाको तयारी अन्तिम चरणमा पुगको जानकारी दिएको हो ।

‘चाड पर्वको उत्सव, व्यापारको महोत्सव’ भन्ने मूल भावनाका साथ आयोजना हुन लागेको मेलाले विराटनगरको बजारलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।

स्थानीय तथा स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने र चाडपर्वको समयमा उपभोक्ता तथा व्यवसायीलाई एउटै ठाउँमा जोड्ने उद्देश्यले मेला आयोजना गरिएको विराट व्यापार संघका अध्यक्ष प्रमोद जिन्दलले जानकारी दिए ।

१३० वटासम्म स्टल रहने मेलामा कोशी प्रदेशका घरेलु तथा साना उद्यमीहरूका लागि ३० स्टल निःशुल्क उपलब्ध गराइएको अध्यक्ष जिन्दलले बताए । स्टलमा ढाका, अल्लो लगायतका स्वदेशी तथा स्थानीय उत्पादनहरू राखिनेछन् । आयोजकका अनुसार यी स्टलबाट करिब २ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा छ ।

त्यसैगरी, मुख्य डोममा रहेका करिब ८० वटा व्यावसायिक स्टलबाट ८ करोड रुपैयाँ, फुड स्टलबाट करिब २० लाख रुपैयाँ, अटोमोबाइलतर्फ करिब ६ करोड रुपैयाँ तथा अन्य गतिविधि र स्टलबाट करिब ३० लाख रुपैयाँ बराबरको कारोबार हुने प्रारम्भिक अनुमान गरिएको अध्यक्ष जिन्दलले बताए ।

मेलाबाट प्रत्यक्ष रूपमा करिब १६ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको आयोजकले जनाएको छ । आयोजकको अनुमानित आम्दानी करिब ८० लाख र अनुमानित खर्च करिब ७५ लाख रुपैयाँ हुने जनाइएको छ ।

आम्दानीका मुख्य स्रोतहरू स्टल शुल्क, प्रायोजन तथा सहयोग र टिकट बिक्री रहेका आयोजकले जनाएको छ । मेला अवलोकनका लागि ५० रुपैयाँ टिकट दर कायम गरिएको कार्यक्रम संयोजक श्यामलाल पौडेलले जानकारी दिए ।

मेलामा दैनिक स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुती रहने छ । कमल खत्री, अस्मिता अधिकारी, महेश काफ्ले, राजनराज शिवाकोटी, अञ्जिला रेग्मी, एलिना चौहान, रचना रिमाल तथा स्थानीय व्याण्ड र सांगीतिक समूहको प्रस्तुती रहने छ ।

मेलालाई व्यापारमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्ने प्रयास स्वरुप ‘आँखादान महादान’ अभियानका लागि निःशुल्क स्टल राखिएको संयोजक पौडेलले बताए । बढ्दो लागूऔषध दुर्व्यसनीलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयलाई पनि निःशुल्क स्टल उपलब्ध गराइएको छ ।

मेलामा आउने हजारौँ दर्शक तथा उपभोक्ताको आवागमनले विराटनगरका पसल, होटल, रेस्टुरेन्ट, यातायात तथा अन्य व्यवसायको समेत कारोबार बढ्ने र समग्र बजार चलायमान हुने आयोजकको विश्वास छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!