संगालोखबर


विराटनगर । पोडवे योजनालाई विराटनगरदेखि धनकुटाको भेडेटारसम्म विस्तार गर्न उद्योगी व्यवसायीहरूले सुझाव दिएका छन् । काठमाडौंको पोडवे कम्पनीले विराटनगरका उद्योगी, व्यवसायी तथा सम्भावित लगानीकर्तामाझ परियोजनाबारे जानकारी गराउने क्रममा उद्योगी-व्यवसायीहरूले उक्त सुझाव दिएका हुन् ।

विराटनगरमा प्रस्ताव गरिएको पोडवे परियोजनालाई प्रारम्भिक ७ किलोमिटर रानी-बसपार्क खण्डमा विस्तार गर्ने प्रस्ताव छ । यसलाई यत्तिमा मात्र सीमित नगरी इटहरी-धरान हुँदै भेडेटारसम्म विस्तार गर्ने दीर्घकालीन योजनासहित अघि बढाउन विराटनगरका उद्योगी-व्यवसायीले सुझाव दिएका छन् ।

उनीहरूले लगानी सुरक्षित, गन्तव्य र पर्यटनसँग जोडेर पोडवे निर्माणको योजना अघि बढाउन लगानीकर्ता कम्पनीलाई सुझाव दिएका हुन् । विराटनगरको रानी भन्सारदेखि बसपार्कसम्म प्रस्ताव गरिएको परियोजना अहिले सम्भाव्यता अध्ययन हुँदै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने चरणमा प्रवेश गरेको छ ।

कम्पनीले परियोजनाका लागि आवश्यक बैंक ग्यारेन्टी कोशी प्रदेश लगानी प्राधिकरणमा बुझाएपछि प्रक्रिया औपचारिक चरणमा प्रवेश गरेको जनाएको छ । कम्पनीका अनुसार नेपाल सरकारको नियमानुसार बुझाउनुपर्ने कुल परियोजना लागतको ०.१ प्रतिशत बराबरको बैंक ग्यारेन्टी प्राधिकरणलाई हस्तान्तरण गरिएको हो ।

यसअघि कम्पनी र कोशी प्रदेश सरकारअन्तर्गतको लगानी प्राधिकरणबीच डीपीआर तथा सम्भाव्यता अध्ययन अघि बढाउने सम्बन्धमा सम्झौता भइसकेको छ । अब परियोजनाको प्राविधिक, आर्थिक तथा सम्भाव्यता पक्षको अध्ययन गरेर डीपीआर तयार गरिनेछ ।

नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले रानीदेखि विराटनगरसम्मको छोटो दूरीमा मात्र परियोजना अघि बढाउँदा लगानीकर्ता जोखिममा पर्न सक्ने बताए । कम्तीमा भेडेटारसम्मको परियोजना अघि बढे मात्रै यसको दिगोपना सुनिश्चित हुने उनको भनाइ छ ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले पोडवे परियोजनाको गन्तव्य पुनर्विचार गर्नुपर्ने बताए । सुरक्षित र भरपर्दो यातायात प्रणालीका रूपमा विकास गर्न सकिने भन्दै उनले निजी क्षेत्र लगानीका लागि तयार रहेको उल्लेख गरे ।

नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडाले आधुनिक यातायात प्रविधिलाई स्वागत गर्नुपर्ने बताए । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिलकुमार साहले विराटनगरको विकासका लागि आधुनिक सुविधाको विस्तार आवश्यक रहेको उल्लेख गरे ।

काठमाडौं पोडवे कम्पनी अन्तरगत रानी-विराटनगर परियोजनाका संयोजक प्रेम भट्टराईका अनुसार ७ किलोमिटर खण्डमा पहिलो चरणको अध्ययन अघि बढाउन लागिएको हो । तर कम्पनीको दीर्घकालीन लक्ष्य भने विराटनगरबाट इटहरी-धरान हुँदै भेडेटारसम्म नै पोडवे विस्तार गर्ने रहेको उनले बताए ।

कम्पनीका अनुसार पोडवे सडकमा गुड्ने परम्परागत यातायात प्रणालीभन्दा फरक प्रविधि हो । फलामको विशेष ट्रयाकमा पोडलाई झुण्डयाएर सञ्चालन गरिने र यो अत्याधुनिक कम्प्युटरबाट स्वचालित रूपमा सञ्चालन हुने जनाइएको छ । यस प्रविधिबाट यात्रुका साथै मालसामान र कन्टेनरसमेत ढुवानी गर्न सकिनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!