
विराटनगर । मोरङको धनपालथान गाउँपालिका ६ रङ्गकालीस्थित हुलाकी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते छन् ।
रंगेलीबाट विराटनगर आउँदै गरेको को २५ प.७७४७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको को १९ प २ नम्बरको मोटरसाइकल सोमबार साँझ करिब ६ः४० बजे आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा परी ७७४७ नम्बरको मोटरसाइकलका चालक विराटनगर महानगरपालिका ७ मिलन चोकका २२ वर्षीय दिलिप बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बिक र अर्को मोटरसाइकलका चालक धनपालथान गाउँपालिका ५ का २५ वर्षीय रूपेश सरदार घाइते भएका थिए ।
उनीहरूलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएको भएपनि उपचारकै क्रममा बिकको मृत्यु भएको हो । घाइते सरदारको उपचार भइरहेको छ । घटनापछि दुवै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संगालोखबर 




















