
विराटनगर । विराटनगर-१४ रानीस्थित साविक हाजी आँखा अस्पताल (हाल रानी विराटनगर आँखा अस्पताल प्रालि) ले चार जना पूर्वसञ्चालकले सेयर बिक्रीबापतको रकम बुझिसकेको दाबी गरेको छ ।
अस्पतालले प्रेस विज्ञप्तिमार्फत पूर्वसञ्चालकहरू डा. गुणराज कट्टेल, ज्याउल कमर, राजेश साह र मो. अतहर अन्सारीले सेयरबापतको रकम लिइसकेको जनाएको हो ।
उनीहरूले सञ्चारमाध्यममा दिएको अभिव्यक्ति निराधार र भ्रामक भएको अस्पतालको दाबी छ । अस्पतालका अध्यक्ष मन्नु कुमार गुप्ताले चारै जनालाई सेयरबापत भुक्तानी गरिएको बैंक स्टेटमेन्ट तथा अन्य प्रमाण आफूहरूसँग सुरक्षित रहेको बताएका छन् ।
उनका अनुसार चार पूर्वसञ्चालकलाई पाउनुपर्ने कुल १ करोड ५८ लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी भइसकेको छ । अस्पतालले सार्वजनिक गरेको विवरणअनुसार डा. गुणराज कट्टेलले पाउनुपर्ने ५७ लाख ८० हजार रुपैयाँ एक्सेल डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र नगदमार्फत २०८२ माघसम्ममा बुझिसकेको दाबी गरिएको छ ।
त्यस्तै, ज्याउल कमरले पाउनुपर्ने १९ लाख ६२ हजार ६०७ रुपैयाँमध्ये १० लाख रुपैयाँ बैंकमार्फत र बाँकी रकम नगद बुझेको अस्पतालको भनाइ छ । राजेश साहले पाउनुपर्ने ३० लाख ६३ हजार ४०० रुपैयाँको सट्टा ३१ लाख ६५ हजार रुपैयाँ भुक्तानी लिएको र यो पाउनुपर्ने रकमभन्दा १ लाख १ हजार ६०० रुपैयाँ बढी भएको अस्पतालले जनाएको छ ।
मो. अतहर अन्सारीले पाउनुपर्ने ५० लाख ८० हजार १५६ रुपैयाँमध्ये अधिकांश रकम उनका पिता कादिर अन्सारीको नाममा बैंकमार्फत र बाँकी नगद भुक्तानी गरिएको अस्पतालले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।
चार जनालाई भुक्तानी गर्नुपर्ने कुल रकम १ करोड ५८ लाख रुपैयाँ भए पनि हालसम्म १ करोड ५९ लाख ८७ हजार ७६३ रुपैयाँ भुक्तानी भइसकेको अस्पतालले जनाएको छ । अस्पताल प्रशासनका अनुसार सेयर खरिद-बिक्रीका क्रममा ग्यारेन्टीस्वरूप कुमारी बैंकको चेक दिइएको थियो ।
पूर्वसञ्चालकहरूले त्यही चेकलाई आधार बनाएर अस्पताललाई कालोसूचीमा राख्ने प्रयास गरेको र पुनः रकम दाबी गरेको अस्पतालको आरोप छ । अस्पतालले उच्च अदालतको फैसलालाई सम्मान गर्दै पुनः १ करोड ६० लाख रुपैयाँ कुमारी बैंकमा जम्मा गरिसकेको जनाएको छ ।
बैंकमा रकम जम्मा गरिएपछि पनि सम्बन्धित पक्षले रकम नबुझी सञ्चारमाध्यममार्फत अस्पताल र नेतृत्वविरुद्ध आरोप लगाएको विज्ञप्तिमा उल्लेख छ । शनिबार चार जना पूर्वसञ्चालकले पत्रकार सम्मेलन गरी आफूहरूले सेयरबापतको रकम नपाएको गुनासो गरेका थिए ।

संगालोखबर 



















