
विराटनगर । विराटनगरमा वृद्धलाई ठक्कर दिएपछि उपचारका लागि लैजान्छु भनेर हिँडेका सफारी चालकले दिमागले काम नगरेपछि सडकमा फालेको बयान दिएका छन् ।
प्रहरीका अनुसार सफारी चालक कटहरी गाउँपालिका२ का ५५ वर्षीय अर्जुन भगतले दिमागले काम नगरेका कारण वृद्धलाई सडकमा फालेको स्वीकार गरेका हुन् ।
‘सफारीमा राख्दा सास चलिरहेको थियो । अस्पताल लैजानुपर्ने त्यहाँ फालेर हिँडेछु । मेरो दिमागले काम गरेन’, उनले बयानमा भनेको कुरा उदृत गर्दै प्रहरी स्रोतले जानकारी दियो । अदालतबाट म्याद थप गरेर सफारी चालकमाथि थप अनुसन्धान भइरहेको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
उनीमाथि सवारी ऐन अन्तरगत मुद्दा चलाइएको छ । लापरबाहीको अवस्था, सवारी चालक अनुमति पत्र भए/नभएको लगायत अन्य विषयमा अनुसन्धान भएपछि सजाय निर्धारण हुने प्रहरीले जनाएको छ ।
गतभदौ २८ गते बिहान विराटनगर-९ ठाकुरबाडी रोडमा विराटनगर-८ का ८२ वर्षीय तीर्थराज बस्नेतलाई सफारीले ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न सफारी चालक भगतले गम्भीर घाइते वृद्धलाई उपचारका लागि अस्पताल लैजान्छु भनेर सोही सफारीमा राखेर लगेका थिए ।
तर विराटनगर-७ मालपोत अगाडिको सडकमा फालेर हिँडेको अवस्थामा वृद्धको शव फेला परेको थियो । वृद्धलाई फालेर प्रदेश १-०२-००४ ह ९६७५ नम्बरको सफारीका चालक फरार भएका थिए । खोजी गर्ने क्रममा चालकलाई प्रहरीले केही समयपछि उनकै घरबाट नियन्त्रणमा लिएको थियो ।

संगालोखबर 



















