
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रिय स्तरको खेल महोत्सवका रूपमा ‘विराट क्रिकेट लिग २०८३’ आयोजना हुने भएको छ । विक्रम संवत् म्यानेजमेन्ट र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त आयोजनामा आगामी मंसिर २६ र २७ गते प्रतियोगिता गर्न लागिएको हो ।
विराटनगर-६ स्थित म्यारीबोन ज्वाला क्रिकेट मैदानमा हुने दुई दिने राष्ट्रिय प्रतियोगितामा देशभरिका विभिन्न व्यावसायिक घराना तथा कर्पोरेट क्षेत्रका प्रतिष्ठित ८ टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितालाई छिटो, रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाउन विशेष ढाँचा तय गरिएको छ । लिग चरणका खेलहरू ’सुपर ६’ (प्रतिखेल ६ ओभर) को ढाँचामा सञ्चालन हुनेछन् भने सेमिफाइनल तथा फाइनल खेलहरू प्रति खेल १० ओभरमा सञ्चालन गरिने छ ।
यो प्रतियोगिता केवल क्रिकेटमा मात्र सीमित नभई देशैभरका व्यावसायिक नेतृत्व, उद्यमी तथा कर्पोरेट व्यक्तित्वहरूबीचको आपसी सम्बन्ध विस्तारको साझा मञ्च बन्ने आयोजक संस्थाका विवेक दाहालले बताए ।
प्रतियोगिता अवधिभर मैदान परिसरलाई एउटा उत्सवका रूपमा सजाउने तयारी गरिएको उनको भनाइ छ । खेलसँगै दर्शक, खेलाडी तथा पाहुनाहरूका लागि विविध कार्यक्रम, आकर्षक सांगीतिक प्रस्तुति तथा स्वादिष्ट परिकारका फुड स्टलहरू रहनेछन् । प्रतियोगिताले कोशी प्रदेशको पर्यटन प्रवर्द्धनमा थप टेवा पु¥याउने आयोजकको अपेक्षा छ ।

संगालोखबर 



















