
विराटनगर । विराटनगरको तास खालमा छापा हानेर प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । विराटनगर-६ सरोचियास्थित लालु पासवानको घरमा तास खेल्दै गरेको अवस्थामा सोमबार राति करिब ११ः३० बजे प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा विराटनगर-१४ का ५५ वर्षीय बलराम कोइराला, विराटनगर-८ का ४१ वर्षीय चन्दन मुखिया, विराटनगर-४ का ५२ वर्षीय सत्यनारायण राजवंशी र ४८ वर्षीय तोरण यादव, विराटनगर-६ का २६ वर्षीय राजेश कामत, ५३ वर्षीय गंगाराम मण्डल, ४३ वर्षीय विष्णु कामत र धनपालथान गाउँपालिका-६ का ३३ वर्षीय साजन राजवंशी छन् ।
प्रहरीले छापा हानेपछि भाग्ने क्रममा चन्दन मुखिया दुई तलामाथिबाट हामफालेका थिए । हामफाल्ने क्रममा उनको दाहिने खुट्टा भाँचिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । उनको विराटनगरको श्री अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै बलराम कोइराला आज बिहान ७ः३० बजे हिरासतभित्रै बेहोस अवस्थामा भेटिएका थिए । उनलाई तत्कालै उपचारका लागि कोशी अस्पताल लगिएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल अस्पतालमा भर्ना गरिएको डीएसपी मिश्रले जानकारी दिए । प्रहरीले तासको खालबाट नगद ४८ हजार ३ सय ९५ रुपैयाँ बरामद गरेको छ । बाँकी ६ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ ।

संगालोखबर 



















