
विराटनगर । शनिबार राति करिब १० बजे विराटनगर-३ आयल निगम अगाडि प्रहरी चौकी बरगाछीको टोली चेकजाँचमा खटिएको थियो ।
चेकजाँचमा खटिएको प्रहरी टोलीलाई देखेर इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको स्कारपियोले भाग्ने क्रममा सोही दिशाबाट आउँदै गरेको कारलाई ठक्कर दिन्छ ।
बागमती प्रदेश ०१-०३० च ४८२२ नम्बरको कारका चालक घाइते हुन्छन् । तर को १ च ७३९९ नम्बरको स्कारपियो चालक तत्कालै फरार हुन्छन् । प्रहरीले स्कारपियो गाडीमा चेकजाँच गर्दा ३९८ किलो गाँजा बरामद हुन्छ । गाँजासहित स्कारपियो प्रहरीको नियन्त्रणमा छ ।
तर अहिलेसम्म चालकको अवस्था अज्ञात छ । स्कारपियो कसको हो भन्ने पनि खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ । ‘चालक अझै फरार छन् । खोजीकार्य जारी छ’, मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले संगालोखबरसँग भने, ‘गाडी कसको हो भन्ने पत्ता लगाउने काम भइरहेको छ ।’
दुर्घटना लगत्तै उनी कसरी भाग्न सफल भए खुल्न बाँकी छ । अनुसन्धानपछि थप कुरा खुल्ने प्रहरीले जनाएको छ ।

संगालोखबर 



















