
विराटनगर । विराटनगरको दरैयास्थित दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) द्वारा नेपाली युवक कुटिएका छन् । शनिबार विराटनगर-२ का २८ वर्षीय अनुज कामतलाई एसएसबीको टोलीले कुटपिट गरेको हो ।
जोगवनीबाट नेपालतर्फ आउँदै गरेका उनलाई एसएसबीले तानेर लगेर कुटपिट गरेको सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा देख्न सकिन्छ । कुटपिटपछि एसएसबीले कामतलाई सशस्त्र प्रहरीको जिम्मा लगाएको थियो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार कामत लागूऔषध प्रयोगकर्ता हुन् । ‘लागूऔषध खाएर फर्कँदै गर्दा एसएसबीलाई ढुङ्गा हानेको रहेछ’, उनले संगालोखबरसँग भने, ‘त्यसपछि एसएसबीले कुटपिट गरेर सशस्त्रको जिम्मा लगाएको थियो । त्यसपछि सशस्त्रले नेपाल प्रहरीलाई जिम्मा लगाएको थियो ।’
शनिबार इलाका प्रहरी कार्यालय रानीमा राखेर आइतबार श्रीमतीको जिम्मा लगाएर कामतलाई छाडिएको उनले बताए । लागूऔषधमा लठ्ठ भएका उनले एसएबीलाई ढुङ्गा हानेका कारण घटना भएको प्रहरीले जनाएको छ ।

संगालोखबर 



















