
धनकुटा । धनकुटाका विभिन्न विद्यालयमा अध्ययनरत विपन्न परिवारका चार विद्यार्थीलाई नेपाली कथानक चलचित्र ‘हली’ निर्माण टिमले छात्रवृत्ति प्रदान गरेको छ । धनकुटा सिनेमा घरमा प्रदर्शनको ५१ औँ दिनको अवसरमा विद्यार्थीलाई छात्रवृति तथा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई सम्मान गरिएको हो ।
चानुवा माध्यमिक विद्यालयका छात्र धर्मराज बिक, थानी आधारभूत विद्यालयकी छात्रा विद्या राई, राम माध्यमिक विद्यालय लेगुवाका छात्र विजयकुमार तुम्बा र अरुणोदय माध्यमिक विद्यालयका छात्र डिकबहादुर बराइलीलाई छात्रवृत्ति प्रदान गरिएको छ । उनीहरूलाई जनही नगद ५ हजार १०५ रुपैयाँ प्रदान गरिएको हो ।

त्यसैगरी धनकुटा नगरपालिका-३ का वडाध्यक्ष तथा धनकुटा सिनेमा हलका सञ्चालक विकास घिमिरेलाई चलचित्र प्रदर्शनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान गरिएको छ । ‘हली’ हेरेर निबन्ध लेखेका जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीलाई पनि नगदसहित सम्मान गरिएको छ ।
उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुली, चलचित्रका निर्माता पूजा गुरुङ र जस्मिन श्रेष्ठ लगायतले छात्रवृत्ति र सम्मान पत्र हस्तान्तरण गरेका छन् ।

वास्तविक घटनाबाट आधारित चलचित्रले छाउपडी प्रथा, हली प्रथा तथा सामाजिक विभेदजस्ता कुप्रथाविरुद्ध आवाज उठाउँदै सामाजिक परिवर्तनका लागि चेतनाको सन्देश दिएको छ ।
चलचित्रमा पहिलोपटक महिनावारी हुँदा किशोरीमाथि गरिने फरक व्यवहार, महिनावारीसँग जोडिएको पीडा तथा तनाव, उचित ज्ञानको अभावका कारण पढाइमा पर्ने असर र मानसिक समस्यालाई प्रस्तुत गरिएको छ ।

संगालोखबर 



















