
विराटनगर । असोज ६ गते साँझ इलाम नगरपालिका-९ भन्ज्याङस्थित मेची राजमार्गमा प्रहरीले ना ४ ख ८९९६ नम्बरको ट्रक नियन्त्रणमा लियो । ट्रकको फल्स बटमभित्र त्रिपालले छोपेर राखिएका ४१ वटा बोराबाट १ हजार ५ सय ४ किलो गाँजा बरामद भयो । तर ट्रक चालक प्रहरीको आँखा छलेर भाग्न सफल भए ।
सोही दिन राति सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहरामा एम्बुलेन्सबाट गाँजा बरामद भयो । बिरामी बोक्न प्रयोग हुने बा २ च ९५७३ नम्बरको एम्बुलेन्समा चेकजाँच गर्दा १५ वटा पोकामा राखिएको ४५० किलो गाँजा भेटियो । तर एम्बुलेन्स चालकलाई प्रहरीले समात्न सकेन ।
असोज १० गते राति करिब १० बजे विराटनगरस्थित आयल निगम अगाडि को १ च ७३९९ नम्बरको स्कारपियो गाडी कारसँग ठोक्कियो । दुर्घटनामा गाडीको अगाडिको भागमा क्षति पुग्यो । तर, दुर्घटनालगत्तै गाँजा बोकेको स्कारपियोका चालक फरार भए । प्रहरीले गाडीमा चेकजाँच गर्दा ३९८ किलो गाँजा फेला पर्यो ।
तर तीन वटै घटनामा फरार भएका चालक यो समाचार तयार पार्दासम्म पक्राउ परेका छैनन् । चालक पक्राउ नपर्दा प्रहरीलाई मुख्य कारोबारी पहिचानमा समस्या भएको छ । गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजान खोजिएको भन्ने कुरा अझै खुल्न सकेको छैन । यी त केही प्रतिनिधि घटना मात्रै हुन् ।
चालकलाई भगाइन्छ कि भाग्छन् ?
चालक पक्राउ परेको अवस्थामा मुख्य कारोबारीको पोल खुल्ने डरले चालकलाई तस्करहरूले प्रहरीकै मिलेमतोमा भगाउने गरेको आरोप पनि लाग्ने गरेको छ । गाँजा र गाडी जफत भए पनि चालकलाई जसरी पनि भगाउने रणनीति तस्कर समूहको हुन्छ । उनीहरूले तस्करीका लागि अन्य सहयोगी पनि गाडीको स्कर्टिङमा खटाउने गरेको पाइन्छ । गस्ती वा चेकजाँचका क्रममा गाडी नियन्त्रणमा लिएपनि मिलेमतोमा चालकलाई भगाउने आरोपमा प्रहरी सहमत छैन ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापाले चालकहरूलाई भगाउने आरोपमा सत्यता नभएको बताए । ‘चालक या मान्छेसहित पनि गाँजा बरामद गरिएको पनि छ’, उनले संगालोखबरसँग भने, ‘तर अधिकांश केसहरूमा ट्राफिक र पुलिसको चेकिङ देखेपछि चालक गाडी छाडेर भाग्छन् । अस्ति इलाममा पनि त्यस्तै भएको थियो ।’

इलाममा गाँजा बोकेको ट्रकबाट रातिको समयमा गाडी स्टार्टमा छाडेर चालक जंगलतर्फ भागेको उनले बताए । त्यसको गाडी मालिक र चालक पत्ता लगाउने काम भइरहेको उनको भनाइ छ ।
‘गाडी इन्ट्रि गर्ने ठाउँमा गलत नम्बर राखेर इन्ट्रि गराएको र त्यसको भेरिफाइ पनि नभएको हुनसक्छ’, उनले थपे, ‘समातेपछि छाड्ने भन्ने त हुँदैन । तर अधिकांश के हुन्छ भने उनीहरूलाई गलत काम गरिरहेको छु भन्ने थाहा हुन्छ । त्यसपछि गाडी छोडेर भाग्छन् ।’ चालक पक्राउ नपर्दा मुख्य कारोबारी पत्ता लगाउन समस्या हुनेगरेको उनले बताए ।
इलाम प्रहरी भन्छ- गाडी नफर्किएपछि हेर्न जाँदा चालक फरार
यातायात कार्यालयबाट गाडीको कागजपत्र मगाएर अनुसन्धान भइरहेको इलामका प्रहरी प्रमुख कुलदीप चन्दले जानकारी दिए । ‘ट्रक चालक र धनी एउटै व्यक्ति हो भन्ने अनुसन्धानका क्रममा खुलेको छ’, उनले संगालोखबरसँग भने, ‘थप गहिराइमा अनुसन्धान भइरहेको छ । थप कुरा अनुसन्धानपछि खुल्छ ।’
उनका अनुसार गोलाखर्क भञ्ज्याङबाट माइखोला पुलमा जाने बाटो पहिरोका कारण दुई/तीन महिनादेखि सवारी-साधन चल्न सक्ने अवस्थामा थिएन । बाटो मर्मतपछि पनि उक्त सडकबाट ठूला गाडी चल्न सक्ने अवस्था थिएन । साना गाडीहरू भने सामान्य चल्न थालेका थिए । प्रहरीका अनुसार ठूला गाडीहरू केचना-कञ्चनजंघा सडक खण्डबाट आजत-जावत हुँदै आएका छन् ।

‘त्यो दिन पानी पनि परिरहेको थियो । ट्रक केचना-कञ्चनजंघा सडक तर्फबाट जानुपर्ने थियो । तर भन्ज्याङबाट बाँया मोडिएर मेची राजमार्गतर्फ जान खोज्यो’, उनले थपे, ‘मेची राजमार्गबाट कुनै पनि ठूला गाडी जान सक्दैनन् । ड्युटीमा रहेको प्रहरीले त्यो बाटोबाट जाँदैन भन्दाभन्दै ट्रक अगाडि बढ्यो । त्यसपछि ट्रकलाई प्रहरीको मोटरसाइकलले पिछा ग¥यो । त्यसपछि यो बाटो जाँदैन गाडी फर्काउनु भनेर प्रहरी टोली फर्कियो ।’
त्यसबेला चालकले आफूलाई सो बाटोको बारेमा थाहा नभएको र गाडी फर्काउँछु भनेपछि प्रहरी टोली फर्किएको उनले बताए । तर गाडी नर्फकाएपछि पुनः प्रहरी टोली पुग्दा गाडी स्टार्टमा छाडेर चालक फरार भएको उनले जानकारी दिए । पछि गाडी नियन्त्रणमा लिएर खानतलासी गर्दा गाँजा फेला परेको उनले बताए । चालकको पहिचान खुलेपनि पक्राउ गर्न बाँकी रहेको उनको भनाइ छ ।
एम्बुलेन्स चालक पनि भेटिएनन्
गाँजा बरामद भएको एम्बुलेन्स कसको नाममा छ भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुनसरीका प्रमुख डीएसपी सुवास हमालले जानकारी दिए । ‘पुरानो एम्बुलेन्स रहेछ । कसको नाममा छ भन्ने बुझ्दै छौँ’, उनले संगालोखबरसँग भने, ‘ढिलो चाँडो चालक पक्राउ पर्छन् । गाडीको विस्तृत विवरण बुझ्न काठमाडौंको यातायातमा पत्र पठाएका छौँ । त्यसको विवरण आएको छैन । आएपछि थप कुरा खुल्छ ।’

मोहन ढकाल/संगालोखबर 

















