
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा यही असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन गरिने भएको छ । कोशी प्रदेश सरकारको आयोजनामा सम्मेलन गर्न लागिएको हो ।
सात वटै प्रदेशका मुख्यमन्त्री भेला हुने सो सम्मेलनको तयारी थालिएको छ । कोशी प्रदेश योजना आयोगलाई मुख्यमन्त्री सम्मेलनको आवश्यक तयारी र समन्वय गर्न जिम्मेवारी दिइएको छ । आयोगले कार्यक्रमको तयारीका लागि आवश्यक समिति निर्माण गरी र कार्यविभाजन गरेर काम थालिसकेको छ । सम्मेलनमा योजना आयोगका उपाध्यक्षहरू, मुख्य न्यायाधिवक्ता र सरकारी अधिकारीहरू पनि सहभागी हुनेछन् ।
संघीयतामा देखिएका चुनौती र असल अभ्यासहरूका बारेमा छलफल गरी प्रदेशमा आर्थिक समृद्धि र सुशासनको बाटो अवलम्बन गर्न मुख्यमन्त्री सम्मेलन गर्न लागिएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए । कोशी प्रदेशका उत्पादनलाई अन्य प्रदेशमा लैजान र अन्य प्रदेशका उत्पादनलाई कोशी प्रदेशमा ल्याउन व्यापार प्रवर्द्धनका लागि समझदारीहरू गरिने मुख्यमन्त्री कार्कीले बताए । पर्यटन प्रवर्द्धनका सम्भावनाका विषयमा पनि दुई प्रदेशहरूबीच साझेदारी र सहकार्य गर्ने तयारी छ ।
२२ गते सबै मुख्यमन्त्रीहरूको उपस्थितिमा कार्यक्रम उद्घाटन गर्ने र त्यसपछि असल अभ्यासहरूका बारेमा छलफल गर्ने कार्यतालिका छ । छलफलका क्रममा प्रदेशले भोग्नु परेका समस्या साथै स्थानीय तह संघीय सरकारसँग गर्नुपर्ने समन्वय र कानुनी पाटाका बारेमा अन्तरक्रिया हुनेछ । प्रदेशको पर्यटन प्रबर्द्धन गर्न मुख्यमन्त्रीहरूलाई नजिकका पर्यटकीय गन्तव्यहरू भ्रमण पनि गराइनेछ ।
प्रदेशहरूका साझा समस्या निर्क्योल गरेर समस्या समाधान गर्न पनि सम्मेलन फलदायी हुने अपेक्षा गरिएको छ ।

संगालोखबर 

















