
विराटनगर । लगातारको अविरल वर्षाका कारण कोशी प्रदेशका पहाडी जिल्लाहरूका सडकहरू अवरुद्ध भएका छन् । पहिरो खस्नुका साथै पानीको बहाव बढेका कारण पहाडी जिल्लाका १० सडकखण्ड अवरुद्ध भएका हुन् ।
कोशी प्रदेश प्रहरी कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार पाँचथरमा तमोर करिडोर, मेमेङ-जोरपोखरी र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएका छन् ।
पाँचथरको तुम्बेवा गाउँपालिका-२ नवाखोलामा पानीको बहाव बढेपछि तमोर-करिडोर ठप्प बनेको छ भने फालेलुङ गाउँपालिका-२ बरडाँडामा पहिरो खस्दा मेमेङ-जोरपोखरी सडक अवरुद्ध भएको हो । यी सडकखण्ड बिहीबार देखिनै अवरुद्ध भएका हुन् ।
यसैगरी पाँचथरकै याङवरक गाउँपालिका-२ दोभानेमा पहिरो जाँदा मध्यपहाडी लोकमार्गको आवत-जावत रोकिएको प्रहरीले जनाएको छ । तेह्रथुमको लालीगुँरास नगरपालिका-१ मा कच्ची सडक खण्डमा हिलो र लेदो जमेका कारण बिहीबार बाटनै अवरुद्ध भएको छ ।
माईजोगमाई गाउँपालिका-४ स्थित जोगमाई खोला र सूर्योदय नगरपालिका-१ को मयुम खोलामा बाढी आएपछि इलामका तिल्केनी-सिलपुर तथा नयाँबजार-फिक्कल भित्री सडक खण्ड अवरुद्ध भएका छन् ।
यस्तै, इलाम नगरपालिका-९ मा पहिरो जाँदा इलाम-बिर्तामोड भित्री सडक प्रभावित भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-५ दोभान र आठराई-१ मिरिङदिङमा पहिरो खस्दा भित्री सडक अवरुद्ध भएका छन् ।
यसैगरी सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका-११ साल्मेमा पहिरो जाँदा सिद्धिचरण लोकमार्ग ठप्प भएको प्रहरीले जनाएको छ ।
यी स्थानमा राति सवारी चलाउन रोक
यसैबीच, वर्षाका कारण हुनसक्ने सम्भावित दुर्घटना रोक्न पहाडी क्षेत्रका लोकमार्ग तथा भित्री सडक खण्डहरूमा राति सवारी-साधन सञ्चालनमा रोक लगाइएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार इलाम, पाँचथर र ताप्लेजुङका मेची लोकमार्ग तथा भित्री सडकमा असोज ८ देखि ११ गतेसम्म बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन रोक लगाइएको हो ।
यस्तै कोशी लोकमार्ग अन्तरगत धनकुटामा असोज ७ देखि ११ गतेसम्म तथा तेह्रथुममा असोज ९ र १० गते बेलुकी साढे ६ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक लगाइएको छ ।
कोशी लोकमार्ग अन्तरगत संखुवासभामा असोज ९ देखि ११ गतेसम्म बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म तथा मध्यपहाडी लोकमार्ग अन्तरगत भोजपुर र सिद्धिचरण लोकमार्ग अन्तरगत सोलुखुम्बुमा असोज ८ गतेदेखि निरन्तर बेलुकी ६ र ७ बजेदेखि बिहान ५ र ६ बजेसम्म राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।
सिद्धिचरण लोकमार्ग अन्तरगत नै उदयपुरमा असोज ८ देखि १२ गतेसम्म बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको कोशी प्रदेश प्रहरी कार्यालयले उल्लेख गरेको छ ।

संगालोखबर 
















