
विराटनगर । सुनसरीको कोशी गाउँपालिकाका नागरिकले जीवन विकास सामुदायिक अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा १० देखि ५० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
कोशी गाउँपालिका र जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनबीच समझदारी पत्रमा हस्ताक्षर भएसँगै स्वास्थ्य सेवामा छुट हुने भएको हो ।
बुधबार अस्पतालका तर्फबाट सञ्चालक तथा प्रशासन प्रमुख अनिता कुमारी गच्छदार र गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार कोशी गाउँपालिकाका बासिन्दा, स्थानीयतह अन्तर्गतका शिक्षक तथा कर्मचारी, निर्वाचित जनप्रतिनिधि र सम्झौतामा तोकिएका उनीहरूका परिवारका सदस्यले अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा विशेष छुट पाउनेछन् ।
ओपीडी, आकस्मिक सेवा, बेड, प्रयोगशाला, रेडियोलोजी, फिजियोथेरापी, शल्यक्रिया, डेन्टल, डेन्टल ल्याब, सीटी स्क्यान तथा यमआरआई लगायतका स्वास्थ्य सेवामा सम्झौतामा तोकिए अनुसार छुट हुने अस्पतालले जनाएको छ ।
अस्पताल र गाउँपालिकाबीच भएको यो सहकार्यले कोशी गाउँपालिका क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचारका लागि लाग्ने खर्चमा राहत पुग्नुका साथै विशेषज्ञ तथा आधुनिक स्वास्थ्य सेवामा उनीहरूको पहुँच थप सहज हुने अपेक्षा गरिएको छ ।
समझदारी पत्रको अवधि असोज ७ गतेदेखि एक वर्ष रहनेछ । आवश्यकता र आपसी सहमतिका आधारमा दुवै पक्षले सम्झौताको अवधि नवीकरण वा विस्तार गर्न सक्ने व्यवस्था गरिएको छ ।

संगालोखबर 
















