संगालोखबर


विराटनगर । विराटनगरको अर्किड कलेजमा सम्पन्न वक्तृत्वकला प्रतियोगितामा कक्षा १२ की छात्रा युनिसा राई प्रथम भएकी छन् । २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै युनिसा प्रथम भएका हुन् ।

प्रतियोगितामा शिवकुमार साह द्वितीय र सतेन्द्र साह तृतीय भएका छन् । विद्यार्थीको क्षमता, तर्कशक्ति र विषयवस्तुमाथिको पकड परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कलेजले जनाएको छ ।

प्रतियोगिताका लागि ‘कक्षा कोठादेखि मोबाइलको पर्दासम्मः बदलिँदो विद्यार्थी जीवन’ र ‘जलवायु न्यायः जिम्मेवारी कसको ? असर कसलाई ?’ गरी दुई विषय छनोट गरिएको थियो । सहभागी विद्यार्थीले आफूलाई रुचि लागेको विषय छनोट गरी त्यसमा आफ्ना धारणा र तर्क प्रस्तुत गरेका थिए ।

कवि तथा पत्रकार मीनकुमार नवोदितको प्रमुख निर्णायकत्वमा शिक्षक राजन दत्त र सन्तोष अधिकारी सदस्य रहेको निर्णायक समितिले विजेताको छनोट गरेको हो । प्रतियोगिताबाट उत्कृष्ट सात विद्यार्थी पनि छनोट भएका छन् ।

उत्कृष्ट सातमा अनुस दाहाल, दीपक दास, भेनस पोखरेल, त्रिक्षा महासेठ, उदय सोनार, सिर्जना मण्डल र गरिमा दास परेका हुन् । प्रथम, द्वितीय र तृतीयसहित उत्कृष्ट सातमा छनोट भएका विद्यार्थीबीच अर्को चरणको प्रतियोगिता आयोजना गरिने कलेजले जनाएको छ ।

उक्त प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई कलेजका तर्फबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने प्रिन्सिपल मनिष भट्टराईले बताए । विद्यार्थीभित्र लुकेर रहेका प्रतिभा पहिचान गरी त्यसलाई प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!