
विराटनगर । विराटनगर-१ का वडाध्यक्ष काजीबहादुर बस्नेतले गिट्टी-बालुवा नपाउँदा भट्टा चोकको समता मार्ग मर्मतमा ढिलाइ भएको बताएका छन् । अहिले गिट्टी-बालुवा निकाल्न रोक लगाइएको हुनाले मर्मतमा ढिलाई भएको वडाध्यक्ष बस्नेतले बताएका हुन् ।
समता मार्ग हिलाम्मे हुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको विषयमा भदौ २६ गते संगालोखबरले स्थलगत रिपोर्टिङ गरेको थियो । सो क्रममा वडाध्यक्ष बस्नेतले एक साताभित्र सडक मर्मत गरेर आवतजावत सहज बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
तर, एक साता बितिसक्दा पनि सो सडक मर्मत नभएपछि वडाध्यक्ष बस्नेतले गिट्टी-बालुवाको समस्याका कारण काममा केही अवरोध भएको प्रतिक्रिया दिएका हुन् । संगालोखबरसँगको सम्पर्कमा उनले बाटो मर्मतका लागि भरपुर पहल भइरहेको बताए ।
‘हामीले समयमा नै बाटोमा गिट्टी-बालुवा झार्ने कोसिस गरेका हौँ’, उनले संगालोखबरसँग भने, ‘खोलाबाट गिट्टी-बालुवा उठाउन दिएको रैनछ । त्यसैले अझै केही दिन लाग्ने देखियो ।’
केराबारी, लेटाङ, कानेपोखरीगायतका स्थानबाट बालुवा-गिट्टी आउनुपर्ने भएपनि ल्याउन नदिएका कारण समस्या भएको उनको भनाई छ । ‘आज आउँछ भोलि आउँछ भन्दाभन्दै २/४ दिन अझै लाग्छ भन्ने खबर आयो’, उनले थपे, ‘यहाँ कतै पाएपनि लगाइदिन्थ्यौं । तर यहाँ पनि पाइएको छैन ।’
उनका अनुसार महानगरका इन्जिनियर पुगेर स्थानीयलाई बालुवा-गिट्टी झार्न अझै २/४ दिन लाग्ने जानकारी गराइएको छ । स्थानीयले कतैबाट बालुवा-गिट्टी ल्याएर सडकमा लगाएपनि वडाले रकम तिरिदिने उनको भनाइ छ । ‘मैले भरपुर कोसिस गरिरहेको छु’, उनले थपे, ‘केही दिनमा समस्या समाधान हुनेमा ढुक्क छु ।’

संगालोखबर 

















