संगालोखबर


विराटनगर । भोजपुरस्थित एक विद्यालयको नयाँ भवन निर्माणको अन्तिम बिल भुक्तानी रोकेर घूस मागेको आरोपमा सघन सहरी तथा भवन निर्माण आयोजना शाखा धनकुटाका तत्कालीन तीन कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सब-इन्जिनियर रविन श्रेष्ठविरुद्ध सोमबार मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार भोजपुरको विद्यालय भवन निर्माण कार्य सम्पन्न भइसकेपछि अन्तिम बिल भुक्तानी प्रक्रिया अगाडि बढाउन प्राविधिक समस्या देखाउँदै सेवाग्राहीलाई दुःख दिएर उनीहरूले १ लाख ३५ हजार रुपैयाँ घूस मागेका थिए ।

पूर्वयोजनाअनुसार आपसमा रकम बाँडेर लिने सहमति गरी ५० हजार रुपैयाँ सब–इन्जिनियर रविन श्रेष्ठको बैंक खातामा क्यूआरमार्फत जम्मा गर्न लगाएका थिए । बाँकी ८५ हजार रुपैयाँ नगद लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

टङ्गालबाट खटिएको टोलीले इन्जिनियर राईलाई ललितपुरबाट र इटहरी कार्यालयको टोलीले लेखा अधिकृत कार्की तथा सब-इन्जिनियर श्रेष्ठलाई धनकुटा र भोजपुरबाट नियन्त्रणमा लिएको थियो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर पुष्टि भएपछि अख्तियारले तीनै जनालाई बिगो १ लाख ३५ हजार रुपैयाँ कायम गरी बिगोबमोजिम जरिवाना र कैद सजायको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!