
विराटनगर । पाँचथरबाट धारिलो हतियार खुकुरी, इन्सास राइफलको गोली र बारुदसहित एक जना पक्राउ परेका छन् । प्रहरीले फिदिम नगरपालिका-६ सिवाका ३२ वर्षीय सुसन तुम्रोकलाई पक्राउ गरेको हो ।
उनलाई कुम्मायक गाउँपालिका-१ यासोक बजारबाट पक्राउ गरिएको पाँचथरका प्रहरी प्रवक्ता इन्स्पेक्टर रामचन्द्र साहले जानकारी दिए । धारिलो हतियार देखाएर धाकधम्की दिइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
उनलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा दापसहितको एक थान खुकुरी, इन्सास राइफलको लाइभ राउन्ड एक थान र बारुद २७.७१ ग्राम फेला परेको इन्स्पेक्टर साहले बताए ।
उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखिएको छ । उनीविरुद्ध खरखजना तथा विस्फोटक पदार्थ कसुरमा ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

संगालोखबर 

















