
विराटनगर । नेपाल पूर्वप्रहरी संगठन परिवार केन्द्रीय कार्यसमितिको तेस्रो साधारणसभा विराटनगरमा सम्पन्न भएको छ । साधारणसभाले विराटनगर-३ निवासी पूर्वप्रहरी नायब उपरीक्षक बद्रीविक्रम थापाको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
विराटनगर-४ बस्ता टोलस्थित संगठनकै भवनमा भएको साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा पूर्वप्रहरी नायब निरीक्षक इन्द्रराज रिजाल चयन भएका छन् ।
उपाध्यक्षमा पूर्वप्रहरी नायब उपरीक्षक शम्भुप्रसाद बराल, सचिवमा पूर्वप्रहरी नायब निरीक्षक धर्मराज न्यौपाने र सह-सचिवमा पूर्वप्रहरी निरीक्षक अशोककुमार सिंह चयन भएका हुन् ।
त्यस्तै, कोषाध्यक्षमा पूर्वप्रहरी नायब निरीक्षक बाबुराम न्यौपाने र सह-कोषाध्यक्षमा पूर्वप्रहरी नायब निरीक्षक टीकादेवी ठकुरी चयन भएका छन् । अध्यक्ष थापाले कार्यसमितिमा थप पाँच जना सदस्य मनोनयन गर्नेछन् ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले पूर्वप्रहरीबीचको एकतामा जोड दिए । पूर्वप्रहरीको अनुभव र योगदानलाई समाजहितमा उपयोग गर्दै संगठनलाई थप बलियो बनाउनुपर्ने उनले बताए ।
साधारणसभामा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा उत्कृष्ट कार्य गर्ने संगठनका इकाइलाई सम्मान गरिएको थियो । ज्येष्ठ नागरिकतर्फ रेवतबहादुर थापासहित छ जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
त्यसैगरी उद्योग-व्यवसायका क्षेत्रमा योगदान पुर्याएको भन्दै राजन डाँगी र खेलकुद क्षेत्रमा योगदान पुर्याउने बुद्धि दराईलाई सम्मान गरिएको थियो । उत्कृष्ट कार्य गरेको भन्दै मिक्लाजुङ र सुन्दरहरैंचा इकाइलाई पनि सम्मान गरिएको छ ।
शिक्षा क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले ‘विप्लव थापा गोदार स्मृति शिक्षा पुरस्कार’ समेत प्रदान गरिएको छ । संगठनका अध्यक्ष थापा र विमला थापाले आफ्ना पुत्र विप्लव थापा गोदारको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कार कक्षा ५ मा अध्ययनरत पूर्वप्रहरी सन्तति साम्राज्ञी पाण्डेलाई प्रदान गरिएको हो ।

संगालोखबर 

















