
उदयपुर । उदयपुरमा गएराती श्रीमानले श्रीमतीको हत्या गरेका छन् । चौदण्डीगढी-२ डाँडागाउँका ५८ वर्षीय गन्दुराम राईले श्रीमती ४५ वर्षीया विमला राईको हत्या गरेका हुन् ।
मादक पदार्थ सेवन गरेका गन्दुरामले राती करिब १२ः३० बजे घरायसी विवादका क्रममा श्रीमती विमलाको गर्दनमा धारिलो हतियार (सिकल) प्रहार गरेको प्रहरीले जनाएको छ ।
घटनापछि गन्दुराम राती आफै प्रहरी कार्यालय गएका थिए । उनले माडिबासस्थित अस्थायी प्रहरी पोष्टमा गएर जानकारी गराएपछि प्रहरी टोली घटनास्थल गएको थियो ।
गम्भीर घाइते अवस्थामा रहेकी विमलालाई उपचारका लागि नगर अस्पताल बेल्टार लगिएको भएपनि उपचारकै क्रममा राती करिब १ः१५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घटनापछि गन्दुरामलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संगालोखबर 














