
विराटनगर । झापा, मोरङ, सुनसरी र धनकुटाबाट लागूऔषधसहित एकैदिन १२ जना पक्राउ परेका छन् । मंगलबार विभिन्न स्थानमा चेकजाँचका क्रममा उनीहरूलाई प्रहरीले लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।
झापाको भद्रपुर नगरपालिका-५ बाट भद्रपुर-३ का २४ वर्षीय अभिषेक तामाङ लागूऔषध ब्राउन सुगर ३ ग्राम ३९ मिलिग्राम सहित पक्राउ परेका छन् ।
दमक नगरपालिका-२ का २९ वर्षीय सन्तोष थापा पनि ६ ग्राम १७० मिलिग्राम ब्राउन सुगर र एक थान डिजिटल तराजुसहित पक्राउ परेका प्रहरीले जनाएको छ ।
त्यसैगरी इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले धरान उपमहानगरपालिका-१४ का ३५ वर्षीय शंकर तामाङलाई ३ ग्राम ७०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
इटहरी उपमहानगरपालिका-८ गैसारमा लागूऔषध बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले इटहरी-३ का २९ वर्षीय सरोज काफ्ले र भारत घर भई इटहरी-८ गैसारमा बस्दै आएका ३२ वर्षीय अवदेश सिंहलाई पक्राउ गरेको छ ।
कोठा खान तलासी गर्दा १० ग्राम ५७० मिलिग्राम ब्राउन सुगर फेला परेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस्तै इटहरी-२ की २९ वर्षीया भावना गुरुङलाई १० ग्राम ७०० मिलिग्राम ब्राउन सुगर सहित इटहरी-१७ स्थितबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले को १२ प ७९६४ नम्बरको स्कुटरमा सवार इटहरी-१७ का १९ वर्षीय रामबाबु चौधरी र १८ वर्षीय आकेश कुमारलाई २ ग्राम ६७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
यस्तै इटहरी-१७ का २२ वर्षीय अभिषेक चौधरी, २४ वर्षीय समिर कुमार र मोरङको उर्लाबारी नगरपालिका-६ घर भई हाल इटहरी-६ मा बस्ने ३१ वर्षीय सुरज कार्की २ ग्राम ८ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।
धनकुटाको सहिदभूमि गाउँपालिका-२ कामीटोलबाट सोही स्थानका ३१ वर्षीय रविन्द्र राईलाई प्रतिबन्धित औषधी ट्रामाडोल-१५० क्याप्सुल र स्पास्रेट-१५० क्याप्सुल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरूविरुद्ध सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

संगालोखबर 













