सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू
प्रधानमन्त्री देउवाज्यू, माओवादीद्वारा हत्या गरिएका ८६ जना भन्दा बढी काँग्रेस कार्यकर्ताको रगतले भिजेको जिल्ला हो– रुकुम । अंगभंग, घाइते, सम्पत्ति लुटिएका, विस्थापित भएका हजारौं साथीहरूको पसिना बगेको छ– रुकुममा ।

Advertisement

म साधारण लेखपढ भएको गृहिणी महिला २०५३ असोज २६ गते रुकुमको सिम्म्रतु बजार प्रहरी चौकीनजिकै तत्कालीन खारा गाविस अध्यक्ष मेरा श्रीमान् टेकबहादुर ओलीको माओवादीले छुरी प्रहार गरी निर्ममतापूर्वक हत्या गरे ।

त्यतिबेला मेरा तीन छोरा क्रमशः आठ, पाँच र तीन वर्षका थिए । बाबुको हत्या भएको तीन महिनापछि एक छोरी जन्मेकी थिइन् । मेरो श्रीमान्को शव बोक्ने, १३ दिने धार्मिककार्यमा समेत एकजना मान्छे मेरो घरमा आउन डराउँथे ।

चुनाव लड्दा लागेको ऋणका कारण घरजग्गा लिलाम गर्ने बैंकले चिट्ठी लेखेको थियो । साँझ बिहान छाक टार्ने, बालबच्चाको शिक्षादीक्षाका लागि २५ वर्षको उमेरमा म विधुवाको काँधमा जिम्मेवारी आइपरेको थियो ।

मेरा लागि पार्टीबाहेक अरू कोही छैन भन्ने विश्वास संकल्पसाथ पार्टीको राजनीतिमा होमिने मेरो श्रीमान्को रगतको सम्मानका लागि लाग्ने निधो गरें । मलाई पूर्वमन्त्री गोपालजीजंग शाहले घर लिलाम हुनबाट बचाइदिनुभयो । उहाँको सहयोगमा बुटवलको बालगृहमा बालबच्चा राखियो । ०५४ को स्थानीय चुनावमा बमबारुदबीचमा उत्तेजना, आवेश, पीडा र बदलाको भावनाले जीवनको बाजी थापेर पहिलो रुकुमको खारा गाविस अध्यक्ष भएँ ।

मेरो जेठा छोराको पढाइमा आदरणीय खुमबहादुर खड्का दाइ आफैंले पैसा तिरेर एसएलसी सम्मको पढाइ पूरा गराइदिनुभयो । नेपाली कांग्रेस विभाजनपछि मलाई सहयोग गर्ने खड्का र गोपालजीजंग शाहको विभाजित पार्टीमा नलागेर नेपाली कांग्रेसमै बस्ने निधो गरें । महिला संघ रुकुमको १२ वर्ष जिल्ला अध्यक्ष भएँ ।

११औं महाधिवेशनदेखि लगातार महाधिवेशन प्रतिनिधि छु । घरव्यवहार त्यागेर पार्टीको पूर्णकालीन कार्यकर्ताका रूपमा काम गरे नगरेको रुकुमेली कांगे्रसजनलाई थाहा छ ।

०६२/०६३ को आन्दोलन, ०५५ देखि हालसम्मका निर्वाचनलगायत पार्टीका गतिविधिमा मलाई खोट लगाउने कुनै ठाउँ राखेको छैन । जाजरकोटको मैना कार्की (सहिदपत्नी) लाई सुजाता दिदीले तिमी समानुपातिकमा परेनौ भन्दा कार्कीले म सुन्दर पनि छैन, पैसा पनि छैन । त्यसैले परेन भनेकी थिइन् ।

म पनि केही पाउनभन्दा गुमाउने संकल्पमा पार्टीमा लागेको हुँ । तर माओवादी, एमालेका सहिदपत्नी मनकुमारी विष्ट र निर्मला विष्ट गाउँपालिका र तीर्था गौतम एमालेको समानुपातिकमा सिफारिस र अघिल्लोपटक सांसद पनि भइन् । ०६४ मा दामा शर्मा, ओनसरी घर्ती सांसद भए । अब कसरी रुकुमेली सहिदपत्नीहरूका अगाडि मेरो पार्टीले मलाई सम्मान गर्यो भनेर अनुहार देखाउने ? सकसमा परेकी छु । रुकुमेली कांग्रेसी नेताहरूसँग मेरो प्रश्न छ– काठमाण्डौंमा बसेर नेताको ढोका चहार्ने, अनैतिक गतिविधि गर्ने तर कोही रहेन मेरा लागि । मेरोबारेमा बोलेनन् जिल्लाका साथीहरू, त्यस अर्थमा दुःखी छु ।

रामचन्द्र दाइले प्रत्यक्षमा लडाउने भन्नुभयो तर सहिदका नाममा धनी पुँजीपतिलाई समानुपातिकमा राख्नुभयो । शशांक दाइले रुकुम कता पर्छ भन्ने थाहा नपाउनेको नाममा अडान गरेर सुचीकृत गर्नुभयो । तर, भूगोलमा बसेर पसिना बगाएको रगत बगाएको रेकर्ड सायद कुनै नेतासँग रहेनछ ।

तर, आदरणीय प्रधानमन्त्री, महामन्त्रीज्यूलाई म शरीरमा एक थोपा रगत रहुन्जेल सधैं लोकतन्त्रको पक्षमा अधिनायकवादको विरोधमा लागिरहनेछु । मेरा सन्ततिलाई पनि त्यही बाटोमा लगाइरहनेछु । तर, मजस्तै माओवादी हिंसाबाट सहादत प्राप्त गर्ने मेचीदेखि महाकालीसम्मका सहिदपत्नीहरूको मन दुखाउने काम नगर्नुहोला ।

म एक्लै तपार्इंहरूको ढोकामा पुगें तर मेरो आवाज नसुनेजस्तै एकल महिलाले राजनीतिमा लाग्दा कति अपमान, आत्मसम्मानमा चोट पुर्याउँछन् पुरुषहरूले । सहेर भोलिको पुस्तालाई प्रेरित गर्न कत्ति पनि विचलित छैन । नेपाली काँग्रेसले यसपटक पनि ठूलो पार्टी भएर लोकतन्त्रको रक्षा गर्दै देशलाई आर्थिक समृद्धिमा लैजाओस् । शुभकामना छ ।

बोधार्थ :
वरिष्ठ नेता, रामचन्द्र पौडेल
महामन्त्री शशांक कोइराला ।

उही सीता ओली
महाधिवेशन प्रतिनिधि
नेपाली काँग्रेस रुकुम ।-रातोपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!