
विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-७ मा एसियन हाइवे निर्माण गर्ने टुण्डी कम्पनीले बस्तीको बीचमा क्रसर र अलकत्रा प्लान्ट खोलेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।
उक्त प्लान्टले जनस्वास्थ्य र वातावरणमा असर गरेको भन्दै डाँडागाउँ टोलवासीले बन्द वा स्थानान्तरण गर्न ध्यानाकर्षण गराएका हुन् ।
करिब ५० घर परिवार बसोवास गरेको डाँडागाँउको पश्चिममा रोडा, ढुंगा उत्पादन गर्ने क्रसर र अलकत्रा प्लान्ट सहितको टुन्डी उद्योग अनुमति नलिइ मापदण्डविपरीत २०८१ सालदेखि सञ्चालन भइरहेको स्थानीयको गुनासो छ ।
उद्योगको धुलोधुवाँले टोलको वातावरण प्रदुषित बनाएको र टोलवासी वृद्धवृद्धा तथा बालबालिकासहितको जनस्वास्थ्यमा प्रत्यक्ष असर गरेको भन्दै स्थानान्तरण गर्न माग गर्दै स्थानीयले कम्पनीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
उद्योगका कारण डाँडागाँउ टोल बस्तीमा आँखा पाक्ने, कान दुख्ने, श्वासप्रश्वास, दम र छाला सम्बन्धी रोग देखिने अवस्था आएको स्थानीय सानु कार्कीले बताइन् । निर्माण सम्बन्धी मापदण्ड अनुसार बस्तीको बीचमा क्रसर र अलकत्रा प्लान्ट खोल्न नमिल्ने तथा बस्तीबाट २ किलोमिटर टाढा हुनुपर्ने तथा खोल्दा स्थानीयको स्वीकृति लिनुपर्ने हुन्छ ।
तर मापदण्ड पूरा नगरी बस्तीको बीचमा अलकत्रा प्लान्ट खोल्नु सरासर गलत भएको कार्कीले बताइन् । यस विषयमा स्थानीयले वडा र नगरपालिकाको समेत ध्यानाकर्षण गराउने भएका छन् ।
वडा कार्यालयले समेत मापदण्ड नपुगेका यस्ता उद्योग स्थापनाका लागि सिफारिस नदिई बन्द वा स्थानान्तरण गर्न पहल गर्न आनाकानी गर्न नहुने उनको भनाइ छ ।


संगालोखबर 













