
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले अनलाइन परीक्षा आवेदन फारमसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पस/कलेजका प्राचार्य तथा प्रतिनिधिहरूका लागि शनिबार अनलाइन परीक्षा आवेदन फारमसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै रजिष्ट्रार डा. रमेशबाबु काफ्लेले परीक्षा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने विश्वविद्यालयको प्रयासअन्तर्गत अनलाइन परीक्षा आवेदन फाराम प्रणाली अघि बढाइएको बताए । प्रणालीको प्रभावकारी रूपमा कार्यान्वयनका लागि विश्वविद्यालय र सम्बन्धित क्याम्पस/कलेजबीच सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए ।
परीक्षा नियन्त्रक बालेन्दु हमालले परीक्षा आवेदन फाराम भर्ने म्यानुअल प्रक्रियालाई सहज, व्यवस्थित र त्रुटिरहित बनाउन अनलाइन प्रणाली उपयोगी हुने बताए । उनले अनलाइन प्रणाली प्रयोग गर्दा आउने जुनसुकै समस्याको समाधानका लागि परीक्षा व्यवस्थापन कार्यालयले आवश्यक प्राविधिक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी व्यवस्थापन संकायका डीन प्राध्यापक डा. उत्तमकुमार रेग्मी, सह-परीक्षा नियन्त्रक कविता अधिकारी तथा कर्मचारी संघका सभापति रूपेश बस्नेतलगायतले बदलिँदो परिस्थितिमा सूचना प्रविधिको आवश्यकता र महत्वबारे प्रकाश पार्दै अनलाइन परीक्षा आवेदन फाराम प्रणालीको सफलताका लागि शुभकामना दिए ।
कार्यक्रममा परीक्षा निर्देशन समितिका सदस्य प्राध्यापक मोहनबहादुर बस्नेत, चिकित्साशास्त्र संकायका डीन डा. श्यामकुमार मल्लिक, इन्जिनियरिङ संकायका डीन देवलाल यादव, विज्ञान तथा प्रविधि संकायका डीन नवीन भट्टराईलगायत पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति थियो ।
परीक्षा नियन्त्रक हमालको अध्यक्षता तथा रजिष्ट्रार काफ्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सह-परीक्षा नियन्त्रक ईश्वर भण्डारीले कार्यक्रम तथा अनलाइन प्रणालीको सैद्धान्तिक तथा व्यवहारिक पक्षबारे जानकारी गराए ।
त्यस्तै मुख्य अधिकृत जनकमणि तिम्सिना तथा अधिकृत दीपक खनालले सहभागीहरूलाई अनलाइन प्रणालीबाट परीक्षा आवेदन फाराम भर्ने तरिकासहित प्राविधिक तथा प्रयोगात्मक पक्षबारे सहजीकरण गरेका थिए ।
कार्यक्रममा विश्वविद्यालयअन्तर्गत कोशी र मधेस प्रदेशका विभिन्न जिल्लामा सञ्चालित आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पस/कलेजका प्राचार्य तथा प्रतिनिधिहरूको सहभागिता थियो । सो क्रममा सहभागीहरूले प्रणाली सञ्चालनसम्बन्धी जिज्ञासा राख्नुका साथै यसको प्रभावकारी कार्यान्वयनका लागि सुझावसमेत दिएका थिए ।

संगालोखबर 













