सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटामा खाना पकाउने ग्यासको अभाव हुन थालेपछी डिलर तथा बिक्री केन्द्रमा अनुगमन गरिएको छ । शनिबार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनकुटाले संयुक्त रूपमा ग्यास डिलरको अनुगमन गरेका हुन् ।

अनुगमन टोलीले धनकुटा बजारमा रहेका करिब आधा दर्जन ग्यास डिलरहरूको अनुगमन गरको छ ।

अनुगमनका क्रममा डिलरहरूमा ग्यासको आपूर्ति कम भएको, कम्पनीले आवश्यक भन्दा कम ग्यास पठाएको, अन्य कम्पनीले भन्दा कोशी ग्यास डिलरले पर्याप्त ग्यास नल्याएको तथा अभाव हुन थालेपछी सेवाग्राही बढीले सञ्चय गरेको पाइएको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपानेले बताए ।

डिलरमा ग्यास कम आएको साथै डिलरहरूबाट सेवाग्राहीले आवश्यकता भन्दाबढी ग्यास लगेका कारण बजारमा ग्यासको अभाव देखिएको उनले जानकारी दिए ।

सेवाग्राहीलाई आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर नदिनसमेत अनुगमन टोलीले डिलरहरूलाई आग्रह गरेको छ । डिलरहरूलाई ग्यास आउँदा प्रशासनलाई खबर गरेर रेकर्ड बुझाउन समेत निर्देशन दिइएको छ ।

ग्यासको अभाव देखिएपछि उपभोक्ताले पनि आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चित गर्ने गरेको कोशी ग्यास डिलर गुठीटारका बिक्रेता लेखबहादुर राईले बताए । यता रिजाल ग्यास बिक्रेता अधिकारी ट्रेडर्स देब्रेवासका प्रोपाइटर होमप्रसाद अधिकारीले कम्पनीले आवश्यकता भन्दा कम ग्यास पठाएका कारण अभाव भएको बताए ।

आफूले कम्पनीले पठाए अनुसार बिक्री गरिरहेको उनले अनुगमन टोलीलाई जानकारी गराए । यस्तै अनुगमन टोलीले डिलरबाट मात्रै ग्यास बिक्री वितरण गर्न निर्देशन दिएको छ ।

एउटा परिवारलाई एक पटकमा एउटा मात्र सिलिन्डर उपलब्ध गराउनसमेत डिलरलाई आग्रह गरिएको छ । डिलरहरूबाट सहज रूपमा ग्यास नपाएपछि उपभोक्ताले किराना तथा खुद्रा पसलबाट महँगो मूल्यमा ग्यास किन्न बाध्य भएको गुनासो आएपछि अनुगमनलाई तिव्रता दिइएको प्रशासनले जनाएको छ ।

ग्यासको कृत्रिम अभाव सिर्जना नगर्न, आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण नगर्न तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन अनुगमन टोलीले बिक्रेतालाई आग्रह गरेको थियो ।

अनुगमन टोलीमा धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपाने, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्री लगायत सहभागी थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!