संगालोखबर


विराटनगर । मोरङको कटहरी-२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनमा बालबालिकाहरूको ल्याप्रोस्कोपिक शल्यक्रिया सेवा सुरु गरिएको छ ।

अस्पतालका डा. बिनित कुमार यादव तथा उनको विशेषज्ञ टोलीले १० वर्षीय बालकको एपेन्डिसाइटिसको अत्याधुनिक ल्याप्रोस्कोपिक प्रविधिबाट सफल शल्यक्रिया गरेको हो ।

बराहक्षेत्र नगरपालिका-५ निवासी १० वर्षीय राहुल ऋषिदेवलाई पेट दुख्ने, वाकवाकी लाग्ने, ज्वरो आउने र खान नरुच्ने लगायतका समस्या देखिएपछि उपचारका लागि जीवन विकास सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो ।

आवश्यक स्वास्थ्य परीक्षण तथा जाँचपछि चिकित्सक टोलीले एपेन्डिसाइटिसको उपचारका लागि ल्याप्रोस्कोपिक प्रविधिबाट शल्यक्रिया गर्ने निर्णय गरेको थियो ।

डा. बिनित कुमार यादव तथा उनको टोलीले गरेको शल्यक्रिया सफल भएपछि बालक राहुलको स्वास्थ्य अवस्थामा सुधार आएको र चिकित्सकको निगरानीपछि उनलाई डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जनाएको छ । घर फर्किने क्रममा राहुल ऋषिदेवले सफल उपचारपछि स्वस्थ भएकोमा खुसी व्यक्त गरे ।

परम्परागत शल्यक्रियाको तुलनामा ल्याप्रोस्कोपिक प्रविधिबाट घाउ सानो हुने, दुखाइ कम हुने, संक्रमणको सम्भावना घट्ने, बिरामी छिटो निको हुने तथा शल्यक्रिया गरेको भोलिपल्ट नै चिकित्सकको सल्लाहअनुसार घर फर्किन सकिने जस्ता महत्वपूर्ण फाइदा रहने चिकित्सकहरू बताउँछन् ।

अस्पताल प्रशासनका अनुसार आकस्मिक शल्यचिकित्सा सेवा २४ सै घण्टा उपलब्ध हुनेछ । अस्पतालले गुणस्तरीय, सुरक्षित र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ विशेषज्ञ सेवा तथा आधुनिक उपचार प्रविधिलाई निरन्तर विस्तार गर्दै लगेको जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!