सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । उच्च अदालत विराटनगर धनकुटा इजलासले आर्थिक वर्ष २०८२/०८३ मा ८६ दशमलव ११ प्रतिशत मुद्दा फछर्यौट गरेको छ । अदालतले ३ सय ६० थान मुद्दामध्ये ३ सय १० अर्थात् ८६ दशमलव ११ प्रतिशत मुद्दा फछर्यौट गरेको हो ।

अदालतमा एक वर्षभन्दा पुराना मुद्दा नरहेको र सरकारवादी फौजदारी मुद्दा अन्तरगत जबरजस्ती करणी, ज्यान मार्ने उद्योग तथा सम्बन्ध विच्छेदमा मुद्दा बढी दर्ता भएको अदालतले जनाएको छ ।

उच्च अदालत विराटनगर धनकुटा इजलास र मातहतका अदालतबाट गत साउन १९ गतेदेखि हरेक मुद्दाको फैसला अनलाइनमा अपलोड गर्न थालिएको छ । जसले प्रविधिको प्रयोगसँगै घरमै बसेर हेर्न पाइने तथा एक जिल्लाको फाइल नजिकको अदालतबाट लिन पाइने व्यवस्था भएको अदालतका रजिष्ट्रार शोभाकर खरेलले जानकारी दिए ।

यता उच्च अदालत विराटनगर इजलास मातहतका ४ जिल्ला अदालतले पनि गत आर्थिक वर्षमा उल्लेख्य मुद्दा फछर्यौट गरेका छन् ।

जसअनुसार धनकुटा जिल्ला अदालतले ८६ दशमलव ०३, तेह्रथुम जिल्ला अदालतले ८३ दशमलव ४२, भोजपुर जिल्ला अदालतले ८१ दशमलव ३४ र संखुवासभा जिल्ला अदालतले ६६ दशमलव ८७ प्रतिशत मुद्दा फछर्यौट गरेका छन् ।

धनकुटा जिल्ला अदालतले ७ सय ५९ मुद्दा मध्ये ६ सय ५३, तेह्रथुमले ३ सय ८० मा ३ सय १७, भोजपुरले ५ सय २० मा ४ सय २३ र संखुवासभाले ६ सय ५२ मध्ये ४ सय ३६ थान मुद्दा फछर्यौट गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!