संगालोखबर
फाइल तस्बिर

इलाम । आज दिउँसो १ बजेदेखि ३ बजेसम्म मुसलधारे वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय इलामले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम सम्बन्धी पूर्वानुमान र बुलेटिन अनुसार मुसलधारे वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।

प्रशासनले सूचना जारी गर्दै भारी वर्षाका कारण अचानक बाढी, पहिरो, कटान, गेग्रान बहावको ठूलो जोखिम सिर्जना हुन सक्ने भएकाले सम्भावित क्षति न्यूनीकरण र पूर्वतयारीका लागि आवश्यक कदम चाल्न आग्रह गरेको छ ।

वर्षाको जोखिमपूर्ण अवधिमा अत्यावश्यक कामबाहेक घर वा बासस्थानबाट बाहिर ननिस्कन र पूर्ण रूपमा सतर्क रहन सर्वसाधारणलाई सूचित गरिएको छ । यसैगरी सवारी साधन सञ्चालनका सन्दर्भमा भारी वर्षा भइरहेको अवस्थामा यात्रा रोकेर सुरक्षित स्थानमा बस्न र यात्रा नगर्न प्रशासनले ध्यानाकर्षण गराएको छ ।

अकस्मात् बाढी आउन सक्ने खोला, खहरे नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान तथा खोला/नदी किनार आसपासका बासिन्दाहरूलाई वर्षाको समयमा बढी चनाखो भई सुरक्षित रहन भनिएको छ ।

जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति वा परिवारलाई स्थानीय तह र सुरक्षा निकायहरूसँग समन्वय गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने परिस्थिति आउन सक्ने भएकाले सबै सरोकारवाला निकायहरूलाई पूर्वतयारी र तयारी अवस्थामा रहन निर्देशनसमेत दिइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!