
विराटनगर । कोशी प्रदेश सरकारबाट नेपाली काँग्रेस बाहिरिने भएको छ । केन्द्रमा एमालेसँगको सत्ता समीकरणमा खटपट सुरु भएसँगै कोशी सरकारबाट पनि काँग्रेस बाहिरिन लागेको हो ।
सुदूरपश्चिम प्रदेशमा एमालेसँगको सहकार्यमा देखिएको असहजताका कारण काँग्रेसले सातै प्रदेश सरकारहरूबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेपछि कोशीमा पनि त्यसको प्रत्यक्ष असर देखिएको छ ।
सरकारमा सहभागिताको विषयमा ठोस निर्णय लिन कोशी प्रदेश काँग्रेसले अहिले ११ बजे बैठक बोलाएको छ । यो बैठकले मन्त्रीहरूलाई फिर्ता बोलाउने औपचारिक निर्णय गर्ने बुझिएको छ ।
नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले सुदूरपश्चिममा एमालेले सिर्जना गरेको अप्ठ्यारो परिस्थितिका कारण अब एमालेसँगको गठबन्धनलाई निरन्तरता दिन नसकिने स्पष्ट पारिसकेका छन् । घिमिरेका अनुसार भोलिसम्ममा एमाले नेतृत्वका सबै प्रदेश सरकारबाट काँग्रेस बाहिरिने तयारी छ ।

संगालोखबर 



















